प्रचण्डको घोषणा : अब माओवादीले वैधानिक जनसरकार चलाउँछ - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

प्रचण्डको घोषणा : अब माओवादीले वैधानिक जनसरकार चलाउँछ



रुकुम, असोज १-

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा स्थानीय जनसरकार चलाएको माओवादीले अब वैधानिक रुपमै जनसरकार चलाउने घोषणा गरेका छन्।

‘रुकुममा माओवादीले पहिला नै जनसरकार चलाएको हो। अब चिज हात परेको छ, रुकुम फेरि माओवादीको किल्लाको रुपमा स्थापित भएको छ ’, शनिबार पूर्वी रुकुमको रुकुमकोटमा आयोजित माओवादी जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘त्यसैले अब माओवादीले रुकुममा वैधानिक रुपमै जनसरकार चलाउँछ।’

रुकुमको पूर्वी क्षेत्र छुट्टै जिल्ला भएकोमा स्थानीयवासीलाई बधाई दिँदै प्रचण्डले रुकुमका सबै तहमा माओवादीले विजय भएको भन्दै खुशी व्यक्त गरे। ‘रुकुम जिल्लाका सबै तहमा माओवादीले विजयी हासिल गर्यो। यसमा तपाईहरुलाई बधाई छ’, प्रचण्डले भने, ‘यसको उन्माद चढ्यो भने चिप्लिन सकिन्छ, नचिप्लिइकन काम गर्न सबैलाई अनुरोध गर्दछौँ।’

प्रचण्डले पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टी भएको तर उन्मादका कारण दोस्रो संविधानसभाको चुनावमा तेस्रो पार्टी हुनुपरेको स्वीकार गरे। ‘हामी ०६४ सालको संविधान सभाको पहिलो चुनावमा पहिलो पाटी भयौँ अनि हामीमा उन्माद चढ्यो र दोस्रो चुनावमा चिप्लिएर तेस्रो पार्टी हुन पुग्यौँ’, प्रचण्डले भने।

शनिबार मात्र महोत्तरीबाट रुकुम पुगेका प्रचण्डले मधेस पूरै माओवादीमय भएको र अबका सबै चुनावमा माओवादी पहिलो पार्टी हुने दाबी समेत गरे। ‘मधेस पूरै माओवादीमय छ। म आजमात्र महोत्तरीबाट आएँ’, प्रचण्डले भने, ‘अब आउने सबै निर्वाचनमा माओवादी पहिलो पार्टी हुन्छ।’