माधव नेपाललाई भेटेर प्रचण्ड पुगे देउवा निवास: किन सक्रिय बने प्रचण्ड ? - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

माधव नेपाललाई भेटेर प्रचण्ड पुगे देउवा निवास: किन सक्रिय बने प्रचण्ड ?



काठमाडौं-सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दौडधुप बढाएका छन् । बिहानै एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेटेर उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन्।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि उनी प्रधानमन्त्री देउवालाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका हुन्।

प्रचण्डका स्वकीय सचिव विष्णु सापकोटाले केही बेरपछि प्रधानमन्त्री देउवासँग छलफल हुने जानकारी दिए। प्रधानमन्त्री देउवासँगको छलफलमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल हुने बताइएको छ।

अहिले देउवा मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट उनीसहित तीन र माओवादीबाट दुई जना मन्त्री रहेका छन्। आइतबार विश्वासको मत लिएसँगै देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।

अध्यक्ष प्रचण्डले यसअघि बिहान एमालेका वरिष्ठ नेता नेपालसँग कोटेश्वरमा भेटवार्ता गरेका थिए।

प्रचण्डसँगको छलफलपछि नेता नेपालले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए।

माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष यादव र नेता नेपालबीच भएको छुट्टाछुट्टै छलफलमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको बताइएको छ।