प्रकाश सपुतको गीतबारे प्रचण्डले मुख खोले - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रकाश सपुतको गीतबारे प्रचण्डले मुख खोले



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतले गाएको ‘पिर’ नामक गीत सुनेर कसैले पनि आवेगमा आउन नहुने बताएका छन् । सोमबार धनगढी पुगेका प्रचण्डले भने, ‘सर्जकले विभिन्न विषयलाई लिएर गीत, कविता, नाटक गर्न पाउँछ, त्यसमा असहमति पनि जनाउन पाइन्छ तर विरोध गर्न पाइँदैन ।’

माओवादी पार्टीबारेमा कसैले गीत बनाउँछ भने त्यसलाई विरोध गर्न नमिल्ने उनले बताए । ‘मैले त्यो गीत त्यति सुन्न पाएको छैन । अलिअलि मात्रै सुनेकाे छु । प्रकाश सपुत आफैँमा पनि एउटा राम्रो सर्जक कलाकार हुन्’, उनले भने । गीतमा एउटा पाटोबाट मात्रै माओवादी युद्ध र नेता/कार्यकर्तालाई हेरिएकाे भए त्यो गलत हुने उनकाे भनाइ छ ।

‘किनभने त्यसका धेरै आयाम छन् । धेरै मर्म र पक्ष छन्’, प्रचण्डले भने, ‘नेतृत्वले शान्ति सम्झौता किन ल्यायो, शान्ति सम्झौतामा ल्याएपछि त्यसको व्यवस्थापन के भयो, किन भयो र कति भयो भन्ने विषयमा अहिले मात्रै होइन, आउने सयौँ वर्षसम्म यसको चर्चा भइराख्ने छ । यसको पक्ष र विपक्षमा चर्चा चलिरहन्छ ।’

उनले ‘जनयुद्ध’मा सहभागी लडाकुहरूले पीडादायी जीवन बिताइरहेको स्वीकारे । ‘कतारमा जाँदा होस्, चाहे मलेसियामा जाँदा, मैले जतिलाई भेटेँ, उहाँहरूले मलाई भन्नुहुन्थ्यो, कमरेड तपाईंलाई केही परे हामीलाई भन्नुस् है । हामी विचलित भएका छैनौँ’, उनले सुनाए । 

उनले युद्धलाई शान्तिकाे प्रक्रियामा ल्याउन ठीक थियो कि थिएन भन्दै प्रश्न पनि गरे । ‘जनयुद्धलाई संविधानसभामा ल्याउनु ठीक थियो कि थिएन ? देशका लागि शान्ति प्रक्रियामा आएपछि कतिपयले माओवादी पार्टीले बर्वाद बनायाे पनि भने’, प्रचण्डकाे भनाइ थियाे ।