माओवादी कार्यकर्ताको चिन्ता: प्रचण्डले परिवारवाद नत्यागे पार्टी बन्दैन - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

माओवादी कार्यकर्ताको चिन्ता: प्रचण्डले परिवारवाद नत्यागे पार्टी बन्दैन



काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा जारी छ ।

बिना तामझाम काठमाडौंमा जारी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीको नेतृत्वतहमा पुग्ने व्यक्ति पुनः पुष्पकमल दाहाल प्रचण्ड नै भए पनि महाधिवेशनको प्रक्रिया भने सबै पूरा गरिएको छ ।

महाधिवेशनको नजिकका दिनहरुमा अध्यक्ष प्रचण्डको बोलीमा भने हिजोका दिनमा भन्दा केही परिवर्तन देखिएको छ । सशस्त्र युद्धका घाइते, बेपत्ता परिवार र पार्टीमा लामो समय योगदान गरेका व्यक्तिहरु नै छायामा पर्दासमेत बेवास्ता गर्दै आएका प्रचण्डले आफूमा पनि केही परिवर्तन जरुरी रहेको आत्मालोचनासहितको प्रतिवेदन प्रस्तुत गरेका छन् । उनको प्रतिवेदन सर्वसम्मतिले पारित पनि भएको छ ।

तर महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट आएकाहरु नै प्रचण्डमा धेरै परिवर्तन जरुरी रहेको टिप्पणी गर्छन् ।

तीमध्येका एक हुन् झापाबाट आएका बेपत्ता परिवारका सदस्य वीरेन्द्र बस्नेत ।

सशस्त्र युद्धमा राज्यद्वारा दुइ सहोदर दाजुभाई बेपत्ता पारिएका परिवारका सदस्य बस्नेत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौँ महाधिवेशनस्थलमा भेटिए । सशस्त्र द्वन्द्वताका उनका दुइ भाइ बेपत्तामात्रै पारिएनन् उनी आफैँ पनि १५ महिना जेल परे ।

बस्नेतसँगै दाई र बुबा पनि महाधिवेशन प्रतिनिधि बनेर आएका छन् । एकै परिवारबाट तीनजना महाधिवेशन प्रतिनिधि कमै मात्र आएका छन् ।

१४/१५ वर्षको उमेरदेखि आफू माओवादीमा लागेको बताउँदै उनी महाधिवेशनले नयाँ विचार र ऊर्जा दिनुपर्ने बताइरहेका थिए ।

सञ्चारकर्मीले उनैलाई पटक–पटक दाजुभाई बेपत्ताको प्रसंग कोट्याइरहेका थिए । बेलाबेला उनको अनुहारमा युद्ध सम्झिँदा पीडाभाव पनि व्यक्त हुन्थ्यो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा माओवादी आन्दोलन अगाडि बढाउनुपर्ने उनको मत देखिन्थ्यो । तर प्रचण्ड परिवारवादमा फस्दै गएको उनको आरोप थियो ।

बस्नेत भन्छन्, “माओवादी पार्टी बनाउने हो भने सुरुमा प्रचण्ड परिवारवादको घेराबाट बाहिर निस्कनुपर्छ । परिवारमा फस्दै जाँदा प्रचण्डसँग आम नेता–कार्यकर्ताको पहुँच पुग्न सकेको छैन । परिवारको घेरा नतोड्ने हो भने पार्टी बन्दैन ।”

उनको बुझाईमा नीतिसँगै व्यवहारमा पनि परिवर्तन जरुरी छ ।

माओवादीले सशस्त्र द्वन्द्वका समयमा आफूहरुलाई सहयोग गरेका जनता बिर्सिएको आरोप उनको छ ।

बस्नेतले भने, “माओवादीको साच्चिकै रुपान्तरण गर्ने हो भने टाउकोबाटै हुनुपर्छ । हिजो युद्ध लड्दा सहयोग गर्ने जनताको बीचमा माओवादी छैन । आर्थिक लेनदेन, भ्रष्टाचारलगायतका कयौं नकारात्मक आरोप नेताहरुमाथि लाग्दै आएका छन् । यो सच्याउनुपर्छ ।”

माओवादी महाधिवेशनले युवाहरुले प्रतिनिधित्व सुनिश्चित गरे पनि नेतृत्वले आफूनिकटलाई मात्रै प्राथमिकता दिन्छन् कि भन्ने चिन्ता बस्नेतसँगै दर्जनौं युवा प्रतिनिधिमा देखिन्छ ।

प्रचण्डले महाधिवेशन हलमा सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ ।

प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह गठन गरिएको थियो । उक्त प्रतिवेदनमाथि समूहगत छलफल सकिएपछि प्रचण्डले जवाफ दिअका थिए ।

बन्द सत्रमा अध्यक्ष प्रचण्डले नेपाली विशेषतासहितको समाजवादी मोडलको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए।