प्रचण्डको पाराले माओवादी भद्रगोल, नेताहरू क्रुद्ध - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

प्रचण्डको पाराले माओवादी भद्रगोल, नेताहरू क्रुद्ध



काठमाडौं- माओवादीको विद्यार्थी संगठनमा प्रचण्डले टिके शैलीबाट पञ्चा सिंहलाई अध्यक्ष बनाए । खुमलटारमा २ घण्टाभन्दा धेरै समय अध्यक्षका आकांक्षीहरुसँ“ग बसेर छलफल गरेपछि प्रचण्डले निर्णय सुनाउँदै सिंहलाई अध्यक्ष बनाएका हुन् ।

अध्यक्षका आकांक्षीहरु सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, दीपक देवकोटा, विजय गौतम र तीलकराज भण्डारीलाई केन्द्रीय सदस्य बनाउने निर्णय सुनाए ।

यो निर्णयसँग माओवादीका युवा नेताहरुबीचमा भने असन्तुष्टि बढेको खबर छ । अहिलेका विद्यार्थी नेताहरु बस्नेत, अधिकारी, देवकोटा, गौतम र भण्डारी पार्टीको केन्द्रीय सदस्य हु“दै गर्दा उनीहरुभन्दा पहिला विद्यार्थीको अध्यक्ष भएका रमेश मल्ल केन्द्रीय सदस्य बनाइएका छैनन् ।

त्यसैगरी, अनिल शर्मा, रत्न ढकाललगायतका नेताहरु पनि केन्द्रीय समितिमा पुगेका छैनन् । पछिल्लो समय अध्यक्षमा दावी गरेकै कारण केन्द्रीय सदस्य हुने र पहिलाका विद्यार्थी नेताहरु चाहिं केन्द्रीय समितिमा नपर्ने दोहोरो मापदण्डका कारण प्रचण्ड विवादमा तानिएका छन् । जुनियरलाई पहिला केन्द्रीय सदस्य बनाएर सिनियरलाई पछाडि पारेको भन्दै ती पीडित नेताहरु क्रुद्ध पनि भएका छन् । रमेश मल्लको कार्यकर्ताका रुपमा रहेका थिए भण्डारी ।

मल्ल र भण्डारी दुवै जना सल्यानका हुन् । मल्लको समर्थन भण्डारीकै लागि थियो । भण्डारीलाई नेता कृष्णबहादुर महराको समर्थन थियो । प्रचण्डले युवा पुस्तालाई बहकाउमा लागेर विना अध्ययन केन्द्रीय सदस्य बनाएको टिप्पणी क्रान्तिकारी विद्यार्थीहरु बीच हुन थालेको छ ।

त्यसमाथि जनार्दन शर्माको दवावले पनि प्रचण्डले सिंहलाई अध्यक्ष बनाएको आरोप छ । अध्यक्षको दावी गरेका दीपेश पुन भने महासचिवका लागि दावी गरिरहेका छन् । उनी विभिन्न विवादमा तानिएका युवा हुन् । अर्कोपटक अध्यक्ष हुने रणनीतिसहित पुन महासचिव दावी गरेको विद्यार्थीहरु बताउछन् ।

पुनले चाहिं वर्षमान पुनको टोलीबाट महासचिव दावी गरेका छन् । विद्यार्थी संगठनमा सन्तुलन मिलाउन पनि आफू महासचिवको दावेदार रहेका बताउने गरेका छन् । तर, अहिले प्रविन कार्की वर्षमान पुनको टीम छोडेर जनार्दन शर्मासँग मिलेर महासचिवको दावी गरिरहेक श्रोत बताउछ । कार्कीको दावीपछि हलमा तोडफोड गराउने काम पनि पुनहरुले गराएको आरोप लगाइएको छ ।

श्रोत भन्छ, विद्यार्थी संगठनमा जनार्दन शर्मा र वर्षमान पुन समूहबीच शक्ति संघर्ष देखिएको छ । यस पटक हितमान शाक्य र पम्फा भुसाल समूह भने कमजोर भएको छ । उनीहरुले आफ्नो समूहका विद्यार्थी नेता उत्तम अधिकारीलाई अध्यक्ष बनाउने प्रयास समेत गरेनन् । प्रचण्डलाई आफ्नो पक्षबाट लविङ गर्ने प्रयास पनि शाक्य र भुसालले नगरेको विद्यार्थी श्रोत बताउछ ।

जसले गर्दा उनीहरुको समूह कमजोर हुने संभावना देखिएको छ । संगठनमा निकै क्रियाशील मानिएका र वर्षमान पुननिकट भनिएका जाँगारिला युवा नेता सुरेन्द्र बस्नेत चाहिं पूर्वएमाले भएकै कारण क्रान्तिकारी विद्यार्थीको अध्यक्ष हुनबाट रोकिएको चर्चा छ । क्षमताको हिसाबले बस्नेत सिंहभन्दा अब्बल मानिन्थे । साँघुन्युजले लेखेको छ ।