बिचरा, यस्ता भए प्रचण्ड ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बिचरा, यस्ता भए प्रचण्ड !



पछिल्लो सयम पूर्व माओवादी कमाण्डर एवं हालको नेपाल कम्युनिस्ट पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कारणले आलोचित हुँदै आएका छन् ।

पहिलो कुरा त उनलाई उनकै पूर्व सहकर्मीहरुले १६ हजारको बलिदानी पछि क्रान्तिलाई धोका दिएर बुर्जुवा व्यवस्थालाई अंगालेको आरोप लगाउने गरेका छन् । उनीमाथि सर्वहाराको अधिकारको कुरा गरेर आफूले सम्भ्रान्त जीवनशैली अबलम्बन गरेको आरोप पनि लाग्ने गरेको छ ।

उनको जीवन शैलीले त्यसलाई पुष्टि पनि गर्छ । एउटा क्रान्तिकारी पार्टीलाई व्यक्तिगत महत्वकांक्षाका लागि दुरुपयोग गर्दा कुनै बेला सबैभन्दा ठूलो दल बनेको माओवादीलाई नेकपा एमालेमा विलय गराएको आरोप समेत खेप्दै आएका उनै प्रचण्डलाई बीबीसी नेपाली सेवाले यस्तै विविध विषयमा प्रश्न गरेको थियो । जवाफमा प्रचण्डको आक्रोश, उत्तेजना र हतास मानसिकता प्रष्ट देखिन्थ्यो ।

बीबीसीले प्रचण्डसँग सोधको थियो, तपाई सैद्धान्तिक रुपमा त बिचलित हुनुभएको थियो, व्यवहारमा पनि बिचलित भएपछि तपाईको व्यवहार संसदवादी दलसँग मिल्यो र एकता सम्भव भएको हो एमालेसँग भन्छन् । प्रचण्डले यसलाई गलत भएको बताए । उनले माओवादी आन्दोलनको मुख्य लक्ष्य पुरा भइसकेको दाबी समेत गरेका छन् । कुरा गर्दै जाँदा दाहाल बिचलनको कुरा गर्नुले अन्तरवार्ता लिन आउँदा नै पूर्वाग्रह पालेर आउनुभएको रहेछ जस्तो मलाई लाग्यो भन्दै आक्रोसित हुन्छन् ।

अन्तरवार्ताकारले पूर्व सहकर्मीको टिप्पणी सुनाएको भन्दा प्रचण्ड पुन आक्रोशित हुँदै को हो पूर्व सहकर्मी भन्दै प्रश्न गर्छन् । अन्तरवार्ताकारले नेतविक्रम चन्द र मोहन वैद्यको नाम लिन्छन्, आक्रोशित मुद्रामै प्रचण्ड भन्छन, त्यो अर्कै हो, नेत्रविक्रम चन्दको यहाँ तुलनै हुँदैन । नेत्रविक्रम चन्दहरुले केपी ओली भन्दा प्रचण्ड क्रुर देखिएका छन् भन्छन, भन्ने बीबीसीको प्रश्नमा प्रचण्ड भन्छन, क्रुर देखिए उहाँहरुले गर्न सक्ने जति गरे हुन्छ भन्दै आक्रोशित मुद्रामै भनेका छन् । दाहालले २०७० को चुनावमा कञ्चनमपुरमा बम हमला गरेर मार्न खोजेको आरोप समेत लगाएका छन् ।

अन्तरवार्ताकारले सैद्धान्तिक बिचलनको खण्डन गर्नुभयो, व्यवहारिक बिलचनको कुरा गर्दा, आचरणको कुरा गर्दा भनेर प्रश्न सक्न नपाउँदै प्रचण्ड पुनः एकाएक आक्रोशित र उत्तेजित हुँदै जवाफ दिएका छन्, दाहालको जवाफ छ, कस्तो आचरण, के खाने ? के लाउने ? नांगै हिड्न पर्यो ? के भन्न खोज्या यो म कुरै बुझ्दैन भन्ने प्रचण्ड निकै आक्रोशित हुन्छन् । त्यो कुरा सत्य नभएको पनि उनी बताउँछन् ।

बीबीसीले प्रचण्डलाई भाडाको घर खोज्दै जाँदा विवादित निर्माण व्यवसायीको घर फेला पारेको भन्ने प्रश्न टुंग्याउन नपाउँदै पुनः प्रचण्ड आक्रोशित हुन्छन्, के विवादित ? कसरी विवादित, के भएको छ र विवादित, कहाँ छ के मुद्दा छ ? त्यत्तिकै विवादित भन्दिने ? प्रचण्डसँग सम्बन्ध भयो भन्न वित्तिकै जो पनि विवादित भन्दिने ? यो रोग हो । महारोग हो ? यो गलत कुरा हो ।

करिब १५ मिनेट लामो अन्तरार्वातमा प्रचण्ड पटक पटक उत्तेजित, आक्रोसित र गलेको मानसिकतामा देखिन्छन् । प्रचण्डको जवाफ दिने शैलीप्रति सामाजिक सञ्जालमा पनि चर्चा चुलिदै गएको छ । विगतमा जस्तो सुकै खरो प्रश्नलाई पनि कुटनीतिक ढंगले जवाफ फर्काउने प्रचण्डको शैलीमा देखिएको उतार चढाबलाई कतिपलयले उनी हतास मानसिकताबाट ग्रसित भएको देखिने समेत बताउने गरेका छन् ।