ओली र प्रचण्डको विशेष निर्देशन - Himal Post Himal Post
  • २१ पुष २०८१, आईतवार
  •      Sun Jan 5 2025
Logo

ओली र प्रचण्डको विशेष निर्देशन



काठमाडौँ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति तत्काल बनाउन विशेष निर्देशन जारी गरेका छन् । पार्टी एकता संयोजन समितिका प्रमुख नेताका रूपमा दुवै नेताले पार्टी एकता र तालमेललाई प्रभावकारी बनाउन शुक्रबार सातबुँदे संयुक्त विशेष निर्देशन जारी गरेको खबर नयाँ पत्रिकामा छ ।

एकताको सन्देशलाई क्षेत्र र गाउँमा प्रभावकारी रूपमा पुर्‍याउन संयुक्त परिचालन र चुनावी प्रचार समिति बनाउन एमाले तथा माओवादी केन्द्र दुवै पार्टीको तल्लो पंक्तिलाई निर्देशनमा भनिएको छ । केन्द्रमा दुवै पार्टीका प्रमुख र वरिष्ठ नेताहरू रहेको समितिले काम अघि बढाइरहेकाले प्रदेश तथा जिल्ला तहमा पनि बढीमा सात सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्नुपर्ने विशेष निर्देशनमा उल्लेख छ । एकता र तालमेलका लागि गरिएको सहमतिको राजनीतिक दिशाको महत्वलाई गम्भीरतासाथ ग्रहण गर्दै स्थापित गर्न दुवै पार्टी पंक्तिलाई नेताहरूले निर्देशित पनि गरेका छन् ।

१९ कात्तिकबाट ताप्लेजुङ–दार्चुला अभियान
पार्टी एकता संयोजन समितितर्फबाट १९ कात्तिकबाट ताप्लेजुङ–दार्चुला एक हप्ते अभियान सञ्चालन हुने भएको छ । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मनोनयन सकिएलगत्तै २६ कात्तिकसम्म अभियान सञ्चालन हुने विशेष निर्देशनमा उल्लेख छ । अभियानमा ओली र प्रचण्डसहितका विभिन्न नेताहरूको सहभागिता र सम्बोधन हुने उल्लेख छ ।

दुवै पार्टीका नेताको केन्द्रदेखि जिल्लासम्म संयुक्त सम्बोधन
विशेष निर्देशनमा केन्द्रीय संयोजन समितिका पदाधिकारी तथा सदस्यहरूले दुवै पार्टीको केन्द्रीय तहका बैठकमा सम्बोधन गर्ने निर्देशनमा उल्लेख छ । त्यस्तै, एकता समितिका प्रदेश तथा जिल्लास्तरका पदाधिकारी र सदस्यले प्रदेश र जिल्लास्तरीय बैठकमा अनिवार्य रूपमा संयुक्त सम्बोधन गर्नुपर्ने भनिएको छ ।

भ्रम चिर्न जिल्लामा संयुक्त भेला
एकता र तालमेलको महत्व र भ्रम चिर्न जिल्लास्तरमा पत्रकार, लेखक तथा बुद्धिजीवीहरूको संयुक्त भेला गर्नुपर्ने विशेष निर्देशनमा उल्लेख छ । ‘पार्टी एकता र चुनावी तालमेलको महत्व तथा यसबाट नेपाली जनता तथा नेपाल राष्ट्रले प्राप्त गर्ने उपलब्धिका सम्बन्धमा स्पष्ट पार्न र प्रतिक्रियावादी कित्ताबाट फैलाइएको भ्रमलाई चिर्न जिल्लास्तरमा पत्रकार, लेखक तथा बुद्धिजीवीहरूको संयुक्त भेला आयोजना गर्ने,’ विशेष निर्देशनमा उल्लेख छ ।

लोकतन्त्रका लागि प्रतिस्पर्धा गर्न चुनौती
ओली र प्रचण्डले कांग्रेसलाई लक्षित गर्दै लोकतन्त्रका लागि प्रतिस्पर्धामा उत्रिन चुनौती पनि दिएका छन् । ‘हामीलाई कसैले लोकतन्त्रको प्रमाणपत्र दिनुपर्दैन र हामीभन्दा बढ्ता लोकतान्त्रिक भएर हामीलाई लोकतन्त्रको प्रश्नमा हामीसँग प्रतिस्पर्धा गर्न आउन, हामीलाई उछिन्न त के पछ्याउन मात्र पनि सक्ने छैनन्,’ विशेष निर्देशनमा भनिएको छ, ‘त्यसैले संकीर्ण राजनीतिक स्वार्थका निम्ति प्रतिक्रियावादी कित्ताबाट सिर्जना गरिएको कम्युनिस्ट तानाशाहीको प्रायोजित प्रचारबाट प्रभावित नहुन, त्यस्तो प्रचारबाट कुनै पनि किसिमले भ्रम र त्रासमा नपर्न सम्पूर्ण पार्टी सदस्यहरू एवं आमजनतालाई अपिल गर्छौँ ।’