एकाबिहानै विष्णु पौडेल, ईश्वर पोखरेल लगायतका नेताहरू प्रचण्ड निवासमा
काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा बढ्दै गएको सत्ता संकट र चरम शक्ति संघर्ष उत्कर्षमा पुगेको छ ।
स्थायी कमिटी बैठक चलिरहेकै समयमा गुटका भेला र रणनीतिक भेलाहरू भैरहेका छन् । प्रचण्ड-नेपाल समुह पछिल्लो समय निकै बलियो देखिएपछि बालुवाटारमा तनाव बढेको अनुमान गर्न सकिन्छ ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली गुटका नेताहरूलाई खुमलटार बोलाएका छन्। प्रधानमन्त्री ओली पार्टीको विधानअनुसार नचलेको र उनको विकल्प खोज्नुपर्ने भन्दै परामर्शका लागि प्रचण्डले नेताहरूलाई बोलाएको स्रोतले बतायो ।
बिहीबार बिहानै रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल सहितका नेता खुमलटार पुगेका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेतालाई बोलाओट भएको र जाने क्रम जारी रहेको एक नेताले जानकारी दिए ।
प्रचण्डले सबैसँग परामर्श गर्ने योजनाअनुरूप आज ओली समूहका स्थायी कमिटी सदस्यहरूलाई निवासमा बोलाएर परामर्श गरिरहेको बताइएको छ। केहि नेताहरू खुमलटार पुगिसकेका छन् भने केहि जाने क्रममा रहेको बताइएको छ ।
बुधबार साँझ मात्रै प्रचण्डले माधव नेपाल र आफूनिकट स्थायी कमिटी सदस्य बोलाएर झम्सिखेलमा छलफल गरेका थिए । पार्टी एकताको बचाउका लागि विभिन्न विषयमा छलफल भएको र ओलीलाई सच्याउने सम्मको विकल्पबारे कुरा उठेको बताइएको छ ।