प्रचण्डको निर्देशन: जे पनि हुनसक्छ तयारी अवस्थामा रहनु - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

प्रचण्डको निर्देशन: जे पनि हुनसक्छ तयारी अवस्थामा रहनु



काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी गम्भीर संकटमा रहेकाले तयारी अवस्थामा रहन स्थायी कमिटी सदस्यहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि अध्यक्ष प्रचण्डले पार्टी फूटको संघारमा रहेकाले जुनसुकै बेला जे पनि निर्णय हुनसक्ने बताएका छन् ।

आज बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा तोकिएको स्थायी कमिटी बैठक बस्ने तयारी भएका बेला मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक पनि डाकिएपछि बिहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको टेलिफोन कुराकानीमा अध्यक्ष दाहालले स्थायी कमिटीको बैठकलाई निरन्तरता दिन र तत्काल मन्त्रिपरिषद्को बैठक नराख्न आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को् चालू अधिवेशन अन्त्यको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिएपछि अध्यक्ष दाहालले अधिवेशन आजै अन्त्य गराउन नहुनेमा जोड दिएका थिए।

मन्त्रिपरिषद् बैठक हुने समय भएकाले सो बैठकमा मन्त्री रहेका स्थायी कमिटीका सदस्यहरु गएका थिए । केहीबेरमै मन्त्रिपरिषद् सम्पन्न भई संसद्को चालू अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको जानकारी आएपछि बैठकमा सो विषय उठेपछि छलफल अघि बढ्न सकेन ।

ओली नआएपछि अध्यक्ष प्रचण्ड नै ओलीलाई भेट्न गएका थिए । केही समयपछिको बैठकपछि अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास गएका थिए । राष्ट्रपतिलाई भेटेर फर्किएपछि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पार्टी फूट्ने सम्भावना रहेकाले तयारी अवस्थामा रहन नेताहरुलाई निर्देशन दिएका हुन् । प्रचण्डले पार्टी एकता गम्भीर संकटमा परेको भन्दै स्थायी समितिबाटै पार्टी फुट्ने चेतावनी दिएका थिए ।

यद्यपि पार्टी एकतालाई जोगाउन आफूहरुको अहिले पनि प्रयास गरिरहेको प्रचण्डले बताएका छन् । ‘हाम्रो प्रयास सफल भयो भने पार्टीमा ऐतिहासिक एकता कायम हुन्छ’ स्थायी कमिटी बैठकमा उनले भने, ‘त्यो प्रयास सफल भएन । पहिलो अध्यक्षले नै अध्यादेश ल्याएर पार्टी फुटाउनुभयो भने कसको के लाग्छ र ?’

एकता जोगाउन अध्यक्ष ओलीसहितका नेताहरुसँग सम्वाद गर्न समय चाहिएको उनले बताए । त्यसअनुसार नै स्थायी कमिटी बैठक पर्सि ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

अध्यक्ष प्रचण्डले पार्टी एकता जोगाउन भोलि दिनभर प्रयास गर्छु भन्दै समय मागेको र त्यसअनुसार बैठक पर्सि ११ बजेसम्म बैठक स्थगित गरिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

त्यस्तै अध्यक्ष प्रचण्डले राष्ट्रपतिले पनि पार्टी एकताको विषयमा त्यति ध्यान नदिएको संकेत गरेका छन् । उनले प्रधानमन्त्रीले अध्यादेश ल्याउने खतरा रहेको बताएका थिए । उनले बैठकमा राष्ट्रपतिले ‘तपाईहरु मिल्नूस’ मात्र भनेको बताएका थिए ।

स्थायी कमिटीका सदस्य गणेश साहले पार्टी नेतृत्वसँग छलफल नगरी संसद्को अधिवेशन अन्त्य गराइनु गलत भएको र आपसी विवादका कारण पार्टी फुटको सङ्घारमा पुगेकाले एकता बचाउन प्रयास भइरहेको बताए ।

उनले भने, ‘प्रतिनिधिसभाको बैठक असार २२ गते बोलाएको छ तर आजै अधिवेशन अन्त्य हुनु जननिर्वाचित सांसदहरुको अवमूल्यन हो । प्रधानमन्त्रीले वामदेव गौतमलाई राष्ट्रियसभामा लाने यसअघिको निर्णय पनि कार्यान्वयन गर्नुभएन । यस्ता शैलीका कारण समस्या उत्पन्न हुँदै आएको हो ।’

नेताहरुबीच अनौपचारिक छलफल र सहमतिको प्रयासका लागि शुक्रबार बैठक नराखी शनिबार ११ बजे तोकिएको छ ।