प्रचण्ड बने नेकपाको संसदीय दलको नेता
काठमाडौँ- नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल पक्षले अध्यक्ष दाहाललाई पार्टीको संसदीय दलको नेता चयन छ ।
पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो । यो पक्षको बैठकमा दुवै सदनका गरी १ सय १५ सांसद उपस्थित थिए ।
यो पक्षले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार पार्टी अध्यक्षबाट हटाएर उनको स्थानमा माधव नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो ।
दाहाललाई दलको नेता बनाउने प्रस्ताव पेस गर्दै नेपालले ओलीले पार्टीको हित विपरित काम गरेको तर उनलाई अध्यक्षबाट मात्रै हटाइएको र आफ्नो गल्ती स्वीकार गरी माफी मागेमा पार्टीमा स्वागत गरिने बताएका थिए ।
नेपालले अध्यक्ष दाहाल संसदीय दलको नेतामा सर्वसम्मतिले निर्वाचित भएको घोषणा गरेका थिए ।