एमसीसीलाई संसदबाट फेल गराउने प्रयासमा प्रचण्ड-नेपाल - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

एमसीसीलाई संसदबाट फेल गराउने प्रयासमा प्रचण्ड-नेपाल



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई संसदबाट फेल गराउने तयारी थालेका छन् ।

शुक्रवार (भोलि) बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसी जसरी पनि टेबल गर्ने अडानमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज प्रचण्डले वान टू वान वार्ता गरेका थिए ।

देउवा आफ्नो अडानबाट ब्याक भएका छैनन् । एमसीसीविरुद्ध सडकमै उत्रेका माओवादी र नेकपा एस कुनै हालतमा एमसीसी पास गर्न तयार छैनन् ।

‘एमालेको साथ लिएर भएपनि एमसीसी फेल गर्ने प्रयासमा प्रचण्ड र माधव देखिनुभएको सूचना हामीलाई आएको छ,’ देउवानिकट एक नेताले हिमालपोस्टसँग भने ।

यसका लागि प्रचण्डले ओलीसँग कुराकानी गरिरहेका छन् । बुधवार आफूनिकट केही नेताहरूलाई बालकोट पठाएर संसदबाट एमसीसीलाई फेल गर्न प्रचण्डले आग्रह गरेका थिए ।

एमालेले भने गठबन्धन तोड्ने विषयलाई प्राथमिकतामा राखेको छ । एमसीसीका विरुद्धमा मत हालेपछि माओवादी केन्द्र र नेकपा एसको सरकारमा रहने नैतिक हैसियत समाप्त हुने र गठबन्धन पनि धरापमा पर्ने ओलीको आंकलन छ ।

आजै ५ बजे बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दैछ । त्यसअघि नै देउवाले मन्त्रिपरिषद बैठक बोलाएर एमसीसीसम्बन्धी विशेष निर्णय गर्ने तयारीसमेत गरेका छन् ।