बालुवाटारमा सर्वदलीय बैठक चल्दैगर्दा प्रचण्ड र नेपालबीच गोप्य छलफल
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार बिहान गोप्य छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएकै दिन उनीहरूबीच गोप्य भेट भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेका दाहाल र नेपाल छुट्टै छलफलमा बसेका हुन् । लफलमा नेपाल एक्लै सहभागी थिए भने माओवादी केन्द्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।
कर्णाली प्रदेशमा शुक्रबार भएको राजनीतिक विश्वासको मत दिएर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाइदिएको भोलिपल्ट उनीहरूबीच छलफल हुनुलाई अर्थपूर्ण मानिएको छ । उनीहरू पछिल्लो परिस्थितिको बारेमा समिक्षा गर्न र भावी रणनीति तय गर्न छलफलमा जुटेको बताईएको छ ।
हिजो कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई एमालेका चार जना सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिएका थिए । उनीहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकार जोगाईदिएपछि केन्द्रमा समेत हलचल पैदा भएको छ ।
स्रोतले दिएको जानकारीअनुसार प्रचण्ड र नेपालबीच बिहान सवा ९ बजेदेखि साढे १० बजेसम्म छलफल भएको थियो। पार्टीको समानान्तर समिति बनाएर झापाबाट काठमाडौं फर्केलगत्तै एमाले नेता नेपालले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा एमाले अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षका भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरिसकेका छन्। यस अघिदेखि नै असन्तुष्ट नेपाल पक्षले कारबाहीपछि देशभर पार्टीका समानान्तर समिति बनाइरहेको छ।