ओलीसँग भेट्ने तयारी गरेका नेपाललाई बिहानै प्रचण्डले भेटेपछि…
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर एकताको लागि छलफल गर्ने तयारीमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहानै भेटेका छन् ।
नेता नेपाललाई भेट्न प्रचण्ड बिहानै कोटेश्वर पुगेका थिए । नेता नेपालको निवास नजिकै एक घरमा दुई नेताबीच भेटवार्ता भएको बताइएको छ । तर कसको घरमा भन्ने खुलाइएको छैन ।
एमालेको एकताको पहल भैरहेको र ओली-नेपाल भेटेर थप छलफल गर्ने तयारी गरेकै बेला प्रचण्ड बिहानै पुगेर नेता नेपाललाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ । निकट नेताले भने भेटमा सरकारमा सहभागिताका विषयमा छलफल भएको बताएका छन् ।
यसअघि प्रचण्डले पार्टीको स्थायी कमिटीमा नेता नेपाल पक्ष सरकारमा सहभागी नहुने ब्रिफिङ गरेका थिए । सुरुका छलफलहरुमा नेपालले सरकारमा सहभागी हुने बचन दिए पनि पछिल्ला दिनहरुमा आन्तरिक एकताको प्रयास भइरहेकाले सरकारमा नजाने बताउने गरेका छन् ।
सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने सत्ता पक्षीय गठबन्धनका नेताहरूको प्रयास छ ।तर, नेपालले भने त्यसबारेमा ठोस निर्णय गरिसकेका छैनन् । जसका कारण मन्त्रिपरिषद्ले हालसम्म पनि पूर्णता पाएको छैन ।
ओली र नेपालबीच मंगलबार भेट्ने तयारी भए पनि समय र स्थान भने निश्चित भइनसकेको उनीहरु निकट नेताहरुले बताएका छन् ।