प्रचण्डमाथि उठ्यो नैतिकताको प्रश्न, दोहोरो चरित्रले चौतर्फी घेराबन्दीमा - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

प्रचण्डमाथि उठ्यो नैतिकताको प्रश्न, दोहोरो चरित्रले चौतर्फी घेराबन्दीमा



काठमाडौं । नेपाली संस्कृतिमा नयाँ कुराको थालनी गर्ने दिनका रूपमा लिइने श्रीपञ्चमीका नेपाली राजनीति एकाएक तरंगित बनेको छ- एमसीसीबारे।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा एमसीसी मुख्यालयलाई एमसीसी पारित गर्ने भनी लेखेको पत्र सार्वजनिक भएलगत्तै प्रचण्ड प्रश्नैप्रश्नको घेराभित्र फसेका छन्।

२९ सेप्टेम्बर २०२१ मा दुवैले हस्ताक्षर गरेको पत्र माओवादी मुख्यालयमा पठाइएको थियो जसलाई गोप्य राखेकोमा प्रधानमन्त्री देउवाले बेलायतबाट फर्कने क्रममा विमानस्थलबाटै सार्वजनिक गरिदिएका थिए। प्रचण्डले त्यसपछि पनि फेरि माओवादी स्थायी समितिको बैठक डाके र त्यहाँबाट निर्णय गराए-एमसीसी यथास्थितिमा पास गर्न सकिँदैन भनेर।

उक्त बैठकमा पनि प्रचण्डले आफूले एमसीसी पारित गर्ने प्रतिबद्धता नजनाएको भन्दै पार्टीलाई ढाँटेका थिए। बैठकमा उक्त पत्र चाहिँ बाँडिएको थिएन तर प्रचण्डले भने पहिलेजस्तै अभिव्यक्ति दिएका थिए।

पार्टीलाई समेत लुकाएको प्रचण्डको पत्रले माओवादीकेन्द्रभित्र हल्लीखल्ली मच्चिएको छ। प्रचण्ड रक्षात्मक अवस्थामा पुगेका छन्।

यस्तो अवस्थामा एमसीसी मुख्यालयका तर्फबाट प्रधानमन्त्री देउवा र प्रचण्डलाई सम्बोधन गर्दै एमसीसी बोर्डका कार्यवाहक मुख्य कार्यकारी अधिकृत मोहमद बहले ताकेता–पत्र पठाएका छन्, जसमा देउवा–प्रचण्डले मागेको समय पूरा भएको र फागुन १६ (फेब्रुअरी २८) भित्र टुंगो लगाइसक्न आग्रह गरिएको छ।

एमसीसीले फागुन १६ भित्र एमसीसी सम्झौता पारित गरिसक्न ‘डेडलाइन’ तोकेको छ।

सडक पूर्वाधार र ट्रान्समिशन लाइन विकासका लागि ५० करोड अमेरिकी डलर अनुदानबारे एमसीसी र नेपाल सरकारबीच २०७४ भदौ २९ मा सम्झौता भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए।

केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले सम्झौता गरेको डेढ वर्षपछि २०७५ माघ २५ मा सम्झौता अनुमोदनका लागि संसद्मा पेस गर्ने निर्णय गरेको थियो । कानुन मन्त्रालयको सिफारिसमा अर्थमन्त्री युवराज खतिवडाले २०७६ असार ३० मा सम्झौता प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गराएका थिए।

उक्त सम्झौता प्रतिनिधिसभामा दर्ता गरेपछि तत्कालीन नेकपाभित्र प्रचण्ड पक्षले ‘राष्ट्रघाती सम्भौता’भन्दा विरोध गरेको थियो। नेकपाको ०७६ माघमा भएको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई अप्ठेरो पार्ने हतियारको रूपमा एमसीसी पारित गरेका थिए।

प्रचण्डसमेतको एमसीसी पारित गर्ने पत्र सार्वजनिक भएपछि उनले प्रधानमन्त्री देउवालाई फोन गरी असन्तुष्टि प्रकट गरेका छन्। अनि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छलफलका लागि बालुवाटार डाकेका छन्। माओवादीभित्र सत्ता गठबन्धन छाड्नेसम्मको वैकल्पिक तयारी शुरु भएको छ। अनि अध्यक्ष प्रचण्डप्रति अविश्वास बढेको छ।

माओवादी स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले एमसीसी पारित गर्न नसकिने बताए। उनले भने, “एमसीसी पारित हुन सक्दैन। अध्यक्षको पत्रबारे अध्ययनपछि मात्र प्रतिक्रिया दिन्छु।”

अर्का नेता नारायणकाजी श्रेष्ठले ट्वीट गरेका छन्,”प्रम देउवा र अध्यक्ष कड्डप्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टबारे हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ।”