गठबन्धन कुनै पनि हालतमा जोगाउने भन्दै मध्यमार्गी प्रस्ताव लिएर प्रचण्ड देउवाको दैलोमा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

गठबन्धन कुनै पनि हालतमा जोगाउने भन्दै मध्यमार्गी प्रस्ताव लिएर प्रचण्ड देउवाको दैलोमा



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन जोगाउने मध्यमार्गी प्रस्ताव लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । 

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा छलफलपछि तयार भएको प्रस्ताव जानकारी गराउन उनी प्रधानमन्त्रीलाई भेट्न गएका हुन् । 

अहिले बालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

माओवादी केन्द्रले गठबन्धन जोगाउने शर्तमा संसद बैठक बहिस्कार गरेर कांग्रेसलाई एकलौटीरूपमा एमसीसी पास गर्न दिने विकल्पमा छलफल भएको थियो । 

माओवादी केन्द्रबाट सरकारमा रहेका मन्त्रीहरुले मध्यमार्गी विकल्प सुझाएका थिए ।

गठबन्धन भत्कँदा एमाले हावी हुने र त्यसलाई कांग्रेसलाई पनि फाइदा नहुने बारेमा प्रधानमन्त्रीलाई बुझाउनुपर्ने माओवादी केन्द्रको बैठकमा छलफल भएको थियो । 

संसद अंक गणित र एमालेले जारी राखेको संसदको अवरोधको अवस्थामा माओवादी केन्द्र र एकीकृत समाजवादीले बैठक बहिस्कार गर्दा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले मात्रै एमसीसी अनुमोदन गर्न सक्ने अवस्था छ । 

बालुवाटार जानुअघि प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि सिंहदरबारमा केहीबेर छलफल गरेका थिए ।