शिक्षकको भेलामा प्रचण्डको मजाक ! - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

शिक्षकको भेलामा प्रचण्डको मजाक !



काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियनको पहिलो भेलाका वक्ताहरुले प्रमुख अतिथि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि घोचपेच गरे, केहीले उक्साए पनि । सबै सुनेपछि प्रचण्डले भने,’मलाई त लागेको छ, भेलाको सफलताको शुभकामना दिएर निक्लिहालूँ ।’

सोझै प्रधानमन्त्री र शिक्षामन्त्री कहाँ गएर यो गर्ने कि नगर्ने भनुँ झै‌ लागेको पनि उनले बताए ।

विवेक सुवेदी लगायतका वक्ताहरुले प्रचण्डले जहिल्यै सकारात्मक आश्वासन दिइराख्ने तर, आफूहरुले पुराना माग राखिराख्नुपर्ने अवस्था रहेको बताएका थिए । ‘मैले हुन्न भनेको भए पो धेरै गुनासो गर्नु’ भन्दै प्रचण्डले ठट्टा गरे ।

तर, अहिले नयाँ समय रहेको भन्दै शिक्षकहरुको माग पूरा गर्ने आश्वासन पनि उनले दिएका छन् ।

प्रचण्डले आफूले बुझेको शिक्षकका तीन माग सुनाए ।

१.साविक सामुदायिक उच्च माविमा नियुक्ति लिई अस्थायी अध्यापन अनुमति प्राप्त गरेका शिक्षकहरुको हकमा आयोगबाट लिइने परीक्षामा उमेर हद लाग्न नहुने ।

२. अस्थायी अध्यापन अनुमति प्राप्त शिक्षकको हकमा एक पटकका लागि माध्यमिक तह द्वितीय श्रेणीको दरबन्दी व्यवस्था गरी विशेष आन्तरिक प्रक्रियाबाट स्थायी नियुक्ति गर्नुपर्ने ।

३. सामुदायिक उच्च माविमा संस्थापक शिक्षकको रुपमा रही निरन्तर अध्यापनरत अस्थायी वा स्थायी शिक्षकलाई उमेर ६० वा सेवा अवधि ३० वर्ष रहँदासम्म अध्यापनरत रहन पाउनुपर्ने

‘शिक्षामन्त्रीलालाई बोलाएर यो गर्नुस् भनेकै भरमा सबै भइहाल्छ भन्ने नसोच्नुहोला । त्यस्तो साह्रै छैन अहिले अप्ठ्यारै छ तर, मैले अड्डी कसेँ भने चाहिँ धेरै कुरा हुन्छ’ प्रचण्डले भने ।उनले यसो भनेपछि हलमा सहभागीहरु ताली बजाए । हामी चाहिएको पनि त्यही हो भने ।

सहभागीहरुलाई आश्वस्त पार्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अब म लड्न जाने भएँ ढुक्क हुनुस् ।’ संघीय शिक्षा ऐन ल्याउँदा शिक्षकहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा गर्ने बताए ।