प्रचण्डले भने: वर्षमान नआएसम्म पदाधिकारी चयन हुन्नन्
काठमाडौँ- माओवादी केन्द्रको पहिलो बैठकले सर्वसम्मत रुपमा अध्यक्षमा पुष्पकमल दाहाललाई चयन गरे पनि पदाधिकारी टुंगो लगाउन भने सकेन । नेता कृष्णबहादुर महराका अनुसार पुस २५ गते बस्ने बैठकले पदाधिकारीहरू टूंगो लगाउनेछ ।
नेता महराले पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठनको गृहकार्य अझै नसकिएको बताए । साथै चीनमा उपचार गराइरहेका नेता वर्षमान पुनले पनि पदाधिकारी चयनको प्रक्रियामा आफू पनि सहभागी हुन चाहेको र राष्ट्रियसभा चुनावको उम्मेदवार टुङ्गो लगाउनुपर्ने भएकाले सोमबारको बैठकले यसबारे निर्णय नगरेको बताइएको छ ।
‘वर्षमान पुन र ओनसरी घर्तीले विशेष आग्रह गर्नुभएको छ । उहाँहरूले पदाधिकारीको चयनमा हामी पनि सहभागी हुन्छौं भनेर आग्रह गर्नुभएको छ’ दाहालको भनाइ उद्धृत गर्दै नेता कृष्णबहादुर महराले भने, ‘पदाधिकारी, पोलिटब्यूरो र स्थायी कमिटीको पनि गृहकार्य भइरहेको छ । पहिलो बैठकबाटै टुंगो लगाउनुपर्छ भनेर स्थगित गरौं ।’
आइतबार भने अध्यक्ष दाहालले नवनिर्वाचित केन्द्रीय सदस्यहरूको नामावली पढेर सुनाएसँगै ८औं महाधिवेशन औपचारिक रुपमा सम्पन्न भएको थियो । सोमबार बसेको पहिलो बैठकले मात्रै अध्यक्षमा दाहाललाई चयन गरेको हो । माओवादीमा १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहने व्यवस्था छ ।