प्रचण्ड आफैले माओवादीहरूलाई 'खाओवादी' भन्न थाले - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

प्रचण्ड आफैले माओवादीहरूलाई ‘खाओवादी’ भन्न थाले



काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफैले माओवादीहरूलाई खाओवादी भन्न थालेका छन् । उनले अहिले माओवादीहरूको इमेज राम्री नभएको संकेत गर्दै जनताले माओवादी होइन खाओवादी भन्न थालेको बताएका छन्।

पछिल्लो समय पार्टी पंतिबाट निरास देखिएका अध्यक्ष प्रचण्डले कहिले माओवादीका नेताहरू बिग्रिएको बताउने गरेका छन् त कहिले यो संरचनाबाट पार्टी चल्न नसक्ने बताउन थालेका छन् । उनले कतिपय सन्दर्भमा पार्टीलाई चलाउन र संगठन विस्तार गर्न नसक्ने हो भने विघटन गर्नुको विकल्प नरहेको बताउउने गरेका छन्।

त्यस्तै प्रचण्डले सोमबारको एक कार्यक्रममा माओवादी नेताहरूको इमेज राम्रो नभएको बताए । कोटेश्वरस्थित माओवादी केन्द्रीय कार्यालयमा सूर्यनाथ रान यादवको स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै दाहालले भने, “हामीलाई माओवादी होइन कोही–कोहीले खाओवादी भन्छन्।”

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले ‘जनयुद्ध’ र क्रान्तिकारी भन्ने कुरा लोगोमा सीमित भएको उल्लेख गरे।  न्यायको लागि लड्ने योद्धा भनेर चिनिनु पर्नेमा माओवादी भन्ने नाम विज्ञापन जस्तो मात्रै भएको उनको भनाइ छ।

दाहालले अहिलेकै जस्तो माओवादी मुलुकलाई आवश्यक नभएको बताए। “मैले भन्ने गरेको छु, यही स्थिति रह्यो भने त यो पार्टी नभए पनि के भयो र?”उनले भने, “जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनु भन्दा त त्यस्तो पार्टी नहुनु बरु राम्रो हो।”