युद्धकाल झल्काउने माओवादीको प्रतिवेदन, यस्तो छ 'प्रचण्ड' कानुन - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

युद्धकाल झल्काउने माओवादीको प्रतिवेदन, यस्तो छ ‘प्रचण्ड’ कानुन



काठमाडौं । सांस्कृतिक विचलनले माओवादी नेता मोटाए पनि पार्टी दुब्लाएको भन्दै नेकपा (माओवादी केन्द्र)ले आफ्ना नेता कार्यकर्तालाई सांस्कृतिक नियम बनाएर ‘ठेगान’ लगाउने भएको छ।

१० वर्ष लामो माओवादी जनयुद्धकालमा जाँडरक्सी खाने, जुवाताँस खेल्ने र बहुबिहे गर्ने थुप्रै नेता र कार्यकर्तालाई माओवादीले कारबाही गरेको थियो। उही युद्धकालको झल्को दिँदै माओवादीले यस्तो नियम बनाउन लागेको हो।

माओवादी नेताका सांस्कृतिक, आर्थिक, वैचारिक विचलन नै माओवादी दुब्लाउनुको मूल कारण हो भन्दै यस्तो नियमले नेता/कार्यकर्ता बाँध्ने मेसो निकालेको हो। माओवादीले आफ्ना नेता कार्यकर्ता अराजक हुँदै गएका र त्यसले माओवादी पार्टीको छवि धमिल्याएकाले नै जनसम्बन्ध सुधार्न यस्तो नियम बनाउन लागेको हो।

माओवादी आठौं महाधिवेशन बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन उद्धृत गर्दै एक नेताले भने, “सांस्कृतिक आचरण उच्च बनाउने भनिएको छ। जसमा बसउठ, खानपिन, यौन जीवन सबैलाई जनताको खराब नहुनेगरी ढंगले माअ‍ोवादीले पालना गर्नुपर्ने छ।”

शान्तिप्रक्रियामा आएपछि माओवादी नेता बिग्रेका, यसले पार्टीको छवि धमिलो भएको आदि उल्लेख छ।

अध्यक्ष प्रचण्डले प्रतिवेदनमा के के खान हुने र नहुने भनेर व्याख्या नगरे पनि खानपिन भनेर रक्सी, जाँड, जुवा तासलाई भनिएको हो। माओवादीले जनयुद्धकालमा यही सांस्कृतिक नियमको हतियारले थुप्रै नेता कार्यकर्तालाई कारबाही गरेको थियो। जाँडरक्सी खाएको, जुवातास खेलेको भनेर माओवादीले कारबाही गरेको थियो। तर, माओवादी पार्टीमा जाँडरक्सी र चुरोटको नियम भने ‘सानालाई ऐन र ठूलालाई चैन’मै सीमित थियो।

माओवादी सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले युद्धकालमै दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘दुई पेग खान्छु।’ भारतविरुद्ध सुरुङ युद्धको घोषणा गरी नेपाल फर्केपछि रोल्पामा बस्दा पनि प्रचण्डले रक्सी पिउँथे।

पूर्वजनमुक्ति सेना र माओवादी कलाकार महेश आरोहीले आफ्नो पुस्तक ‘कम्युनिष्टको नाउँमा’ उल्लेख गरेका छन्, “हामीले चुरोट खाए पार्टीले कारबाही गर्थ्यो। प्रचण्ड बड्डाले भने उपाबाङ स्कुलमा चुरोट स्वाट्टस्वाट्ट तानिरहेको देखेँ। चेले पनि चुरोट खाएको फोटो सम्झेर मन थामेँ।”

आरोहीले २०५७ सालमा जनमुक्ति सेना घोषणा कार्यक्रमथलो रोल्पा ढाङढुङको उपाबाङ स्कुलको प्रांगणमा अध्यक्ष प्रचण्डले चुरोट तानेको देखेका उल्लेख गरेका छन्। आरोही लामो समय जनमुक्ति सेनामा काम गरे भने पछिल्लो समयमा माओवादी कलाकार भएर।

माओवादीले आफ्ना नेताको चोचोमोचो दलाल, व्यापारी, ठेक्दारसँग मिलाएकाले जनतासँग ‘उठबस’ गर्न भनेर यस्तो शब्द उल्लेख गरेका हुन्। तिनै व्यापारी, ठेक्दार र बिचौलियासँगको उठबसले कांग्रेस, एमाले नेतालाई पनि माथ गर्नेगरी माओवादी नेता नवधनाध्य बर्गमा फेरिएका छन्।

जसले गर्दा जनतासँग माओवादीको दूरी बढेको तर्क छ।

यौन जीवन भनेर अध्यक्ष प्रचण्डले माओवादीले बहुबिहे र बिहेइतरको यौन सम्बन्धलाई भनेका हुन्। माओवादीले जनयुद्धकालमा थुप्रै नेता र कार्यकर्तालाई यस्ता यौन काण्डमा कारबाही गरेको थियो। यस्तो कारबाहीमा सानामात्र होइन, ठूला नेता पनि परे।

यही कुरालाई हिसिला यमिले पत्रिकामा लेख नै लेखेकी थिइन्, ‘दुश्मनको गोलीले नढलेका कमरेड यौन गोलीले ढले।’

यही यौन गोलीले रामबहादुर थापा ‘बादल’ र पम्फा भुसाल, यानप्रसाद गौतम आलोक र हरिबोल गजुरेलजस्ता केन्द्रीय नेता ढलेका थिए। माओवादी आधार क्षेत्र मानिने रोल्पा-रुकुमतिर यसरी सांस्कृतिक विचलनमा परेका वा यौन काण्डमा कारबाही पर्नेलाई ‘अंग्रेजी लागेको’ ‘तमाखु खाएको’ भन्ने चलन नै चलेको थियो।