प्रचण्डमाथि अर्को जिम्मेवारी थपियो - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्डमाथि अर्को जिम्मेवारी थपियो



काठमाडौं । नेकपा (माओवादी) केन्द्रको निवर्तमान स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ ।

शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । बैठकमा बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिने निर्णय भएको पनि नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।

उनले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेकाले त्यसलाई समाधान गर्न पार्टीले कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको बताए ।

एमसीसीको कुरा पनि बैठकमा उठेको छ । “चुनावको कुरामा छलफल चल्दैछ, चुनावमा सकेसम्म कम खर्चमा सकेसम्म तीनवटा चुनाव एकैपटक गर्न पाए राम्रो भन्ने ढंगले छलफल चलिरहेको छ कार्यदल भित्र । छलफल अझ पनि जारी छ । निर्वाचन आयोग, बुद्धिजीविहरु, पत्रकारहरु, त्यसपछि कानूनविदसँग सल्लाह लिएर यसको निस्कर्षमा पुग्न बाँकी नै छ,” उनले भने ।

नेता महराले बैठकमा तीनवटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल भएको र अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीविहरुको रायअनुसार कानुनविद्हरुसँग छलफल गरेर निस्कर्षमा पुग्ने बताए ।