प्रधानमन्त्री ओलीलाई प्रचण्डले बालुवाटारमै हकारे - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रधानमन्त्री ओलीलाई प्रचण्डले बालुवाटारमै हकारे



काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसंग झनै बढी क्रुद्ध बनेका छन् । प्रचण्डले स्थायी कमिटीकाे बैठक बोलाएकै समयमा मन्त्रिपरिषद्‌को बैठक किन बोलाएको भन्दै प्रधानमन्त्री ओलीलाई हकारेका छन्।

पूर्व निर्धारित समयअनुसार बिहान ११ बजेदेखि स्थायी कमिटी बैठक बोलाइएको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले १२ बजे मन्त्रिपरिषद्‌को बैठक बोलाएका थिए। स्थायी कमिटीका नेताहरु बालुवाटार गइरहेकै समय प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीलतनिवास गएका थिए। शीतलनिवासबाट प्रधानमन्त्री फर्कन ढिलो भएपछि नेताहरु स्थायी कमिटीको बैठकका लागि प्रतिक्षारत थिए।

१२ बजेको आसपास बालुवाटार पुगेका प्रधानमन्त्री ओली मन्त्रिपरिषद्‌‌को बैठकमा सहभागी भए। नेताहरुले प्रधानमन्त्री ओलीलाई कुरीरहे। मन्त्रिपरिषद्‌ बैठक करिब १५ मिनेट बसेर सकिएकाे थियाे। बैठकले संसदको जारी बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गर्‍यो।

मन्त्रिपरिषद्‌‌को बैठकपछि सुरु भएको स्थायी कमिटी बैठक प्रारम्भकै वातावरण सौहार्द देखिएन। बैठकको प्रारम्भमै पार्टी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकको बेलामा किन मन्त्रिपरिषद् बोलाएको भन्दै प्रधानमन्त्रीसँग आक्रोश व्यक्त गरे।