प्रचण्डलाई हेग लैजाने यस्तो छ गेम प्लान
अयोग्य लडाकु लेनिन विष्टलाई नेपालको शान्ति प्रक्रियाविरुद्ध प्रयोग गर्न नेदरल्याण्ड पुर्याइएको छ ।
विष्टलाई नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध प्रयोग गर्दै आएको समूहले नेदरल्याण्ड लगेको हो ।
विष्ट अबको तीन महिना युरोपका विभिन्न देशमा रहनेछन् । विष्टलाई कनकमणि दिक्षित, कपिल श्रेष्ठ र ओमप्रकाश अर्यालहरुको समूहले नेदरल्याण्ड जाने सेटिङ मिलाएको हो । दीक्षित, श्रेष्ठ र अर्यालमाथि ‘द्वन्द्वको खेती गर्ने डलरवादी’ को आरोप लाग्दै आएको छ ।
उनीहरुले नेकपा अध्यक्ष प्रचण्डलाई हेग लानुपर्ने भन्दै अन्तर्राष्ट्रिय समुदायसँग बेलाखबत अपिल गर्दै आएका छन् । स्रोतका अनुसार विष्टलाई माओवादी जनयुद्धमा बालसैन्यको प्रयोग गरेको भन्दै प्रचण्डविरुद्ध हेगका अधिकारीसँग कुरा गर्ने जिम्मेवारीसहित उनीहरुले त्यहाँ पठाएका हुन् ।
विष्टले आगामी अप्रिल ८ देखि ११ तारिखसम्म हेग कमिटीका पदाधिकारीसँग अन्तरक्रिया गर्नेछन् । तीन महिनाको युरोप बसाइमा उनले जर्मन संसदमा सम्बोधनसमेत गर्ने कार्यक्रम छ । यस्तै नेदरल्याण्डसहित जर्मन, प्रान्स, पोर्चुगल र बेल्जियमका विभिन्न विश्वविद्यालयका विद्याथीसँग बालसैन्यको प्रयोगसम्बन्धी अन्तरक्रियामा सहभागी हुनेछन् ।
विष्टलाई कनक समूहले प्रचण्डविरुद्ध नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उजुरी दिनेबारे समेत कुराकानी गर्ने बुझिएको छ । यद्यपि नेपाल हेगको पक्ष राष्ट्र नभएकाले प्रण्डबिरुद्ध त्यहाँ मुद्दा दर्ता हुँदैन ।