विदेशीले वास्ता नगरेको प्रचण्डको गुनासो ! - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

विदेशीले वास्ता नगरेको प्रचण्डको गुनासो !



काठमाडौं– नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय समुदायले नजरअन्दाज गरेको गुनासो गरेका छन्।

शुक्रबार हनुमान ढोकाको नासल चोकमा आयोजित लोकतन्त्र मेलामा अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय भए पनि पश्चिमा देशहरुले महत्व नदिएको बताएका हुन्।

दाहालले ल्याटिन अमेरिकी देशहरुमा असफल भएको शान्ति प्रक्रियालाई पश्चिमा देशले नोबेल पुरस्कार दिएको तर नेपालमा मौलिक ढंगले सफलतापूर्वक शान्ति प्रक्रिया सफल हुँदा पनि अध्ययन अनुसन्धानको विषय नबनाइएको उल्लेख गरे।

उनले नेपालको शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय रुपमै अध्ययन अनुसन्धानको विषय बनाउनु पर्नेमा जोड दिए । नेपालमा जस्तो सफल शान्ति प्रक्रिया युरोपका देशमा भएको भए यसलाई फरक ढंगले अघि सारिने उनको तर्क थियो ।

प्रचण्ड दश वर्षे सशस्त्र आन्दोलनका नेतृत्वकर्ता तथा शान्ति सम्झौता एक प्रमुख नेता हुन् । माओवादीलाई हतियारबन्द आन्दोलनमा लैजान र शान्ति प्रक्रियामा ल्याउन दाहालले भूमिका खेलेका थिए ।

उनले नेपालमा राजनीतिक क्षेत्रमा महिलाको सहभागीता विश्वकै उत्कृष्ट भएको दाबी गरे ।

‘समावेशी लोकतन्त्र, राजनीतिमा महिला नेतृत्व’ विषयक विषयमा धारणा राख्दै दाहालले महिलाका लागि संघीय संसदमा ३३ र स्थानीय तहमा ४० प्रतिशत स्थान पाउनु ठूलो उपलब्धि भएको बताए । विश्वका विकसित भनिएका देशहरुले वर्षौैदेखि महिला सहभागीताका विषयमा छलफल गरे पनि निर्णय गर्ने आँट नगरेको दाबी गरे ।