प्रचण्डको घोषणा: योगेशलाई मन्त्री बनाउने, नारायणकाजिलाई चुनाव लडाउने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डको घोषणा: योगेशलाई मन्त्री बनाउने, नारायणकाजिलाई चुनाव लडाउने



काठमाडौँः सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपचुनाव नहुने बताएका छन् ।

पाथीभर समाज ताप्लेजुङले बुधबार काठमाडौँमा दसैँ तिहारसहितका चाडपर्वका अवसरमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहलले नेकपाको सिट गुम्ने गरी चुनाव नहुने बताएका हुन् ।

‘काठमाडौँको क्षेत्र नम्बर ७ मा वामदेव गौतम उठ्ने र जित्ने चर्चा चलिरहेको छ’, उनले भने, ‘प्रधानमन्त्री र म बीच यसबारे पटक पटक छलफल भएको छ । यसबारेमा हामी छलफलको चरणमा छौँ तर निर्णय भइसकेको छैन ।’

अध्यक्ष दाहालले उपचुनाव भएमा नेकपाको सिट पक्का हुने गरी मात्रै गरिने स्पष्ट पारे ।

सरकारबारे समीक्षा 

अध्यक्ष दाहालले आफूले पाथीभर माताको दर्शन गरेपछि पार्टी एकताले पनि गति लिएको बताउँदै यसलाई एउटा संयोगका रुपमा लिन सकिने बताए ।

दााहालले रकारले केही पनि गरेर भन्नु सत्य नभएको पनि प्रष्ट पारे । ‘सरकारले महँगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नसकेकै हो । हामी त्यसबारे गम्भीर समीक्षामा  लागेका छौँँ’, उनले भने, ‘हामी राम्रै गृहकार्य गरेर जनताले देख्ने गरी सुशासन र विकासको पक्षमा निर्णय लिँदैछौँ ।’

जनताको तहमा पुगेका कुरा आफूहरुले सुनेको बताउँदै उनले अब ती सबै कुराको सम्बोधन हुने पनि जिकिर गरे । ‘अब जनताका आवाजको सम्बोधन हुन्छ । निराश भइहाल्नुपर्ने र बर्बाद भइगयो भन्ने तर्फ गइरहनुपर्दैन’, उनले भने, ‘छ्यास्स केही भइगयो भने तर्सिने बानी हटउनुपर्छ ।’

अध्यक्ष दाहलले सरकारलाई पाँच वर्ष चल्न समस्या नरहेको पनि प्रष्ट्याए । ‘तर सरकारले आफ्नो कामका समीक्षा पनि गर्नुपर्छ,’ उनले थपे, ‘तर चिन्तित भइजानुपर्ने अवस्था भने छैन ।’

योगेश मन्त्री हुन्छन् 

अध्यक्ष दाहालले चुनाव प्रचारका क्रममा आफू ताप्लेजुङ जान नसकेको प्रसङ्ग कोट्याउँदै त्यहाँबाट विजयी नेकपा नेता तथा सांसद योगेश भट्टराईलाई चाँडै मन्त्री बनाउने पनि बताए ।

‘घरमा शोक परेकाले मैले ताप्लेजुङसहित धेरै जिल्लामा सम्बोधन गर्न पाइनँ’, उनले भने, ‘ताप्लेजुङमा भाषण गर्ने क्रममा हाम्रा अध्यक्ष केपी शर्मा ओलीले योगेशजीलाई मन्त्री बनाउँछु भनेको कुरा मैले युट्युबमा हेरेँ । योगेशजीलाई मन्त्री बनाउने कुरामा, बाचा पुरा गर्ने कुरामा हामी दुवैजन प्रतिवद्ध छौँ ।’