प्रचण्डको घोषणा: अबको निर्वाचनमा माओवादी देशको प्रमुख शक्ति बन्छ - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

प्रचण्डको घोषणा: अबको निर्वाचनमा माओवादी देशको प्रमुख शक्ति बन्छ



काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक परिस्थितिबारे ‘संक्षिप्त रिपोर्टिङ’ गर्ने क्रममा प्रचण्डले भने, ‘आगामी निर्वाचनसम्म आउँदा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ ।’

पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको प्रचण्डको विश्लेषण छ । तर, यसका लागि अब यो राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न बाँकी रहेको उनले बताएका छन् ।

बैठकलाई सम्वोधन गर्दै प्रचण्डले भने, ‘हाम्रो अस्तव्यस्त भएको संगठन नै हो । माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको छ, अब यसलाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न जरुर छ । माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दाहरु उल्टिने र देश नै दुर्घटनामा पर्न सक्छ । त्यसैले परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादी लिनुपर्छ ।’

प्रचण्डले अगाडि भने, ‘संसद विघटनविरुद्ध माओवादी केन्द्रले नै लडेको हो । गठबन्धन निर्माण गरेर केपी ओलीलाई घोडाबाट झार्ने काम माओवादी केन्द्रले नै गरेको हो भन्ने जनताले बुझेका छन् । विरोधीहरु र विश्वले पनि बुझेको छ । अब यो पहललाई संगठनमा रुपान्तरण गर्नुपर्छ ।’

यसबीचमा नेतृत्वबाट कमी कमजोरीहरू पनि भएको बताउँदै प्रचण्डले संघ र प्रदेश दुबैतिर माओवादी बलियो भएको बताए । उनले भने, ‘यसबीचमा हाम्रा कमी कमजोरी पनि भए । सहिद परिवार, घाइते. र पीडितहरुलाई प्रतिक्रियावादीहरुले हाम्रो विरुद्ध प्रयोग गर्न पनिन खोजे । तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौं । संघमा पनि राम्रै स्थितिमा छौं, तीनवटा प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्यो ।’

तर, बलियो भएका छौं भनेर ढुक्क भएर नबस्न प्रचण्डले आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरे । उनले बैठकमा भने,‘बलियो छ भनेर ढुक्क हुने स्थिति छैन । परिवर्तन उल्ट्याउन खोज्ने तत्वहरुले गठबन्धन तोड्ने र पुरानै सरकार ल्याउन खोजेका छन् । हाम्रो काँधमा अहिले पनि जिम्मेवारी छ । प्रतिगमनलाई परास्त गर्ने र प्रतिगमनलाई रोक्ने भूमिकालाई अलिकति पनि घट्न दिनुहुँदैन ।’

प्रचण्डले अगाडि भने, ‘प्रतिगमनलाई रोक्ने यात्रा अघि बढाउनुछ । अभियान लिएर संगठन र जनमत निर्माण गर्ने काम गर्न जरुरी छ ।

माओवादी अध्यक्ष प्रचण्डले अरु दलहरुभन्दा माओवादी पार्टीमा कम समस्या रहेको र वैचारिक रुपमा एकतावद्ध रहेको दाबीसमेत गरे । ‘हाम्रो पार्टीमा निर्णय गरिसकेपछि नमान्ने भन्ने छैन, हिजो गठबन्धनका नेताहरुको बैठकमा पनि कुरा चल्यो, बाहिरबाट हेर्दा सबैभन्दा मिलेको पार्टी माओवादी नै हो’ प्रचण्डले भने, ‘तर मेरो मर्म मैलाई थाहा छ !’

तथापि पार्टीभित्र समाजवादी क्रान्तिको कार्यदिशा लगायत वैचारिक राजनीतिक विषयमा कुनै मतभेद नरहेको प्रचण्डले बताए । ‘यसमा एकरुपता नै छ,’ उनले भने, ‘सबैभन्दा सजिलो माओवादी केन्द्र नै हो भन्ने हिजो गठबन्धनको बैठकमा पनि कुरा भयो ।’