नयाँ वर्षमा प्रचण्डले गरे नयाँ घोषणा
सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा माओवादी आन्दोलनको नयाँ ध्रुवीकरण र नयाँ एकताको थालनी भएको घोषणा गरेका छन्।
नयाँ वर्ष २०७९ सुरु भएको दिन बिहीबार आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘साँच्चै यो नयाँ वर्ष माओवादी आन्दोलनका निम्ति नयाँ प्रहर, नयाँ दिनको सुरुवात गर्ने दिनका रुपमा आएको छ। यो देश र आम जनताकै लागि खुसी र गर्वको कुरा हो।’
देशभर माओवादी ध्रुवीकरण अभियान सञ्चालन गरेर प्रतिगमनकारीलाई परास्त गर्न उनले माओवादी नेता कार्यकर्तालाई आह्वान गरे। उनले अझै पनि देशभित्र र बाहिरका ‘प्रतिक्रियावादीहरू’ माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागि परेको र प्राप्त परिवर्तन र उपलब्धिलाई उल्ट्याउने प्रयासमा रहेको दाबी गरे।
‘प्रतिक्रियावादीहरुले देशभित्र र देशबाहिरका सबैले माओवादीलाई क्षतविक्षत पार्ने, माओवादीका मुद्दालाई सिध्याउने, यसलाई कमजोर पार्ने र यसलाई पूरै माओवादी आन्दोलनले ल्याएका परिवर्तन र उपलब्धिलाई नै उल्ट्याउने जो षड्यन्त्र भएको छ, त्यो षड्यन्त्र परास्त गर्नु माओवादी आन्दोलनमा सहभागी सबैका निम्ति त जीवन मरणको प्रश्न छँदै छ’, प्रचण्डले भने, ‘यो राष्ट्रको निम्ति आम जनता– जसले समावेशी लोकतन्त्रको समानुपातिक प्रतिनिधित्वको प्रणालीको संघीयता, लोकतन्त्र, गणतन्त्रको, धर्मनिरपेक्षताजस्ता कुरा, बिलकुल माओवादी आन्दोलनले स्थापित गरेका मुद्दा हुन्। यो तपाईंंहामीले रगत पसिना बगाएरै नै यो भएको हो। यो कुनै अर्काे पार्टीले विचार भएको होइन, यो अरुलाई मन परेर भएको पनि होइन, जो राजनीतिक दलहरुले यो स्वीकारेको भनेका छन्, माओवादी आन्दोलन अब कमजोर भयो, विभाजित भयो, कमजोर देखिनेबित्तिकै हामीले प्राप्त गरेका उपलब्धिमा कसरी हमला हुँदो रहेछ भन्ने कुरा गत साल हामीले प्रस्टै देख्यौं।’