एक घण्टा छलफल: गठबन्धन नहुने शेखरको अडानमा प्रचण्डको फरक मत - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

एक घण्टा छलफल: गठबन्धन नहुने शेखरको अडानमा प्रचण्डको फरक मत



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेतवार्ता भएको छ ।

भेटमा आगामी स्थानिय निर्वाचन र गठबन्धनको विषयमा छलफल भएको बताइएको छ । प्रचण्डलाई भेटेर शेखरले चुनावी गठबन्धन लामो जान नसक्ने बताएको स्रोतको दाबी छ ।

बिहिबार बिहानै प्रचण्ड निवास खुमलटारमा भएको भेटका क्रममा नेता कोइरालाले पहिले पनि कांग्रेस कम्युनिष्टबीचको गठबन्धन त्यति शुखद नभएको र आगामी दिनमा पनि कांग्रेसले कम्युनिस्टलाई भोट दिने विश्वास आफूलाई नभएको बताएका हुन् ।

झण्डै १ घण्टा छलफल गरेका दाहाल र कोइरालाबीच गठबन्धन, चुनावी तालमेल, एमसीसीलगायतका विषयमा छलफल भएको बताइएको छ । तर प्रचण्डले भने सबै चुनावमा गठबन्धन गरेरै एमालेलाई साइजमा ल्याउन सकिने बताएका थिए । भेटमा प्रचण्डले पहिलेको र अहिलेको सेन्टिमेन्ट फरक भएको भन्दै ओली हराउन सबैले सबैलाई भोट दिने बताएका थिए ।

कोइरालाले भने कांग्रेस र कम्युनिस्टको सिद्धान्त नै फरक भएकाले सोचेजस्तो नहुने बताए । ‘स्थानीय चुनावमा त गठबन्धनको कुरै नगरौं । केन्द्रको चुनावमा पनि कांग्रेसलाई कम्युनिष्टले भोट हाल्दैनन् । चुनावी गठबन्धन हामी कसैको हितमा हुँदैन’, कोइरालाले प्रचण्डलाई भने ।

नेता कोइरालाले भने कांग्रेसका अधिकांश नेता कार्यकर्ता चुनावी तालमेलको पक्षमा नरहेको भन्दै राजनीतिक सहकार्य र चुनावी गठबन्धन फरक कुरा भएको बताएका थिए । बैठकमा एमसीसीबारे पनि छलफल भएको थियो । कोइरालाले सभामुखले संसद सुचारु गरेर एमसीसी टेबुल गर्नु उपयुक्त हुने बताएका थिए ।