माधव नेपालपछि प्रचण्ड फकाउँदै ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेताहरू फकाउन थालेका छन् । बालुवाटारमा सरकार नरहने समिक्षापछि ओलीले नेताहरूलाई टेलीफोन गरेरै छलफल गरौँ भन्न र्हालेका छन् ।
सरकार र राजनीतिमा देखिएको तरलताकै कारण नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली लचिलो बन्न थालेको चर्चा समेत हुन थालेको छ ।
सोमबार एकाएक माधव नेपालसमूहसँग छलफलको लागि प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएका थिए । तर नेता नेपालले एक्लै नभेट्ने र बालुवाटार नआउने बताएपछि पार्टी कार्यलय धुम्बाराहीमा आ-आफ्ना दोस्रो पुस्ताका नेताहरूसहित वार्ताका लागि जुटेका थिए ।
तर आफूले सोचेजस्तो नभएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलीफोन गरेरै भेटको प्रस्ताव गरेका छन् ।
माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले भेट्न भन्दै प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
प्रचण्डले भने अहिले आफूसँग समय नभएको भन्दै समय भएपछि भेटौँला भन्ने जवाफ फर्काएको बताइएको छ ।
राजनीतिक उतारचढावले दवावको अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले अहिले सरकार टिकाउन जसपा, काङ्ग्रेस, माओवादी र आफ्नै पार्टीका विद्रोही नेताहरूलाई फकाईरहेका छन् ।