मन्त्री फेर्ने हल्लाबारे प्रचण्डको ‘डिप्लोम्याटिक’ जवाफ
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् फेरबदल गर्नेबारे केही छलफल नभएको बताएका छन् । तर केहि दिन अगाडी नेकपाकै एक सांसदले मन्त्री फेर्नेबारे अध्यक्षद्वय ओली र प्रचण्डबीच औपचारिक कुरा भएको बताएका थिए ।
विराटनगर विमानस्थलमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले तत्कालै मन्त्रिपरिषद् फेरबदल गर्ने तयारी नरहेको बताएका हुन् ।
‘मन्त्री फेर्नेबारे केही कुरा भएको छैन,’ प्रचण्डले भने, ‘राजपा सरकारमा जाने या सरकारबाट समर्थन फिर्ता लिने विषय पनि कुनै निष्कर्षमा पुगिसकेको छैन ।’
राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले माग गरेको संविधान संशोधनको विषयलाई आफ्नो पार्टी नेकपाभित्र बहसमा ल्याएको प्रचण्डको भनाइ थियो ।
‘संघीय समाजवादी फोरमसँग सरकारमा सहभागी हुने बेलामा भएको तीन बुँदे सहमति अनुसार नै सरकार र पार्टीले काम गरिरहेको छ, आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्छ भन्नेमा हामी सहमत नै छौं,’ प्रचण्डले भने ।