प्रचण्डले दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रचण्डले दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद



काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

सोमबार पेरिसडाँडामा आयोजित जनसांस्कृतिक महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई धन्यवाद दिएको बताएका छन् । उनले भनेका छन् , “मैले आज एक अन्तर्वार्तामा भनेको छु, केपीजी तपाईँलाई धन्यवाद! तपाईँले हामीलाई जनतामा जाने मुद्दा दिनुभयो र नारा दिनुभयो।”

गणतन्त्र, संघीयता, लोकतन्त्र र जनताका पक्षमा लड्ने मुद्दा दिएको पनि प्रचण्डले कार्यक्रममा बताए।

प्रचण्डले ओलीलाई ‘श्री ३ महराज’ बन्न खोजेको अरोपसमेत लगाए। भने, ‘केपी ओली सामन्ती शासकजस्तो, श्री ३ महाराज जस्तो, जङ्गे (जङ्गबहादुर राणा) बन्ने बाटोमा हिँड्नुभयो।’

प्रचण्डले सदन विघटित नभई ओली नेतृत्वको सरकारको विघटन भएको बताए । ‘सदन मरेको छैन्, जिवित छ,’ उनको भनाइ थियो, ‘सदन विघटन भएको छैन । विघटन भएको केपी ओलीको सरकार हो ।’

संविधान र जनताको भावनाविपरीत प्रतिनिधिसभा विघटन गरिएको भन्दै प्रचण्डले अदालतले त्यसको पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे ।

‘सम्मानित अदालतले यति सामान्य कुरा, संविधानमा बडो प्रष्टसँग लेखिएको प्रावधान बुझ्दैन भनियो भने अदालतको अपमान गरेको ठहर्छ,’ प्रचण्डको भनाइ थियो, ‘म अदालतको भरोसा गर्न चाहान्छु । छिटो भन्दा छिटो प्रतिनिधिसभा सुरु गर्ने आदेश आउनेमा विश्वस छ ।’

केहीले आफूहरु सडकमा पुग्यौं भनेर चिन्ता गरेको भन्दै प्रचण्डले आफूहरु सडकमा नभइ जनताको बीचमा पुगेको बताए । ‘केपी ओलीलाई धन्यावाद,’ उनको भनाइ थियो, ‘उहाँले हामीलाई जनताको बीचमा जाने बाटो देखाइदिनु भयो ।’

भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तर मैले के भनेको छु भने केपी ओली इतिहासमा पराजित हुनुभयो । उहाँ कलंकीत हुनुभयो। उहाँले कलंकको टीका लगाउनु भयो । फेरि एकचोटी हाम्रो विजय अभियानको सुरुवात भयो ।’