एमसीसीलाई देउवा-प्रचण्डको संयुक्त पत्र, पास गर्ने बाचा गरेका प्रचण्डले किन गर्दैछन विरोध ? - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

एमसीसीलाई देउवा-प्रचण्डको संयुक्त पत्र, पास गर्ने बाचा गरेका प्रचण्डले किन गर्दैछन विरोध ?



काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई संयुक्त पत्र पठाएको भेटिएको छ । एमसीसी सम्झौता अनुमोदनको विषयले राजनीति र समाज सबैतिर चर्चा चुलिएका बेला यस्तो खुलेको हो ।

भर्खरै माओवादी केन्द्रले आफ्नो महाधिवेशनबाट एमसीसी यथास्थितिमा पारित नगर्ने प्रतिवेदन पास गरिसकेको छ । उक्त प्रतिवेदन पनि प्रचण्ड आफैले लेखेका थिए । तर पार्टीको प्रतिवेदन आफै लेखेका प्रचण्डले आफैले एमसीसी मुख्यालयलाई पत्र पठाउनु आश्चर्यको विषय बनेको छ ।

देउवा र प्रचण्डले पठाएको र हिमालपोस्टलाई उच्च स्रोतले उपलब्ध गराएको उक्त पत्रमा एमसीसी अनुमोदनका लागि दुवै नेताले संयुक्त प्रयास गर्नेदेखि अनुमोदनको माहोल बनाउने भन्दै समय मागिएको छ । तर पछिल्लो समय प्रचण्ड आफैले एमसीसी यथास्थितिमा पास गर्न नसक्ने सार्वजनिक कार्यक्रममा बोल्दै हिँडेका छन् । माओवादीका अधिकांश नेताहरूले पनि एमसीसी पास गर्न नसकिने बताउँदै आएका छन् ।

जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलतबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग यसबारे खुलासा गरेका थिए । देउवाले आफू र ‘प्रचण्ड’ले संयुक्त रुपमा एमसीसी मुख्यालयलाई पत्र पठाएको जानकारी ग्लास्गोबाट फर्कंदा उनले बताएका थिए । ‘एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्छौं भनेर मैले र प्रचण्डजीले संयुक्त पत्र पठाएर उहाँहरुलाई आश्वस्त पारेका छौं,’देउवाले विमानस्थलमा भनेका थिए ।

हामीले प्राप्त गरेको पत्रमा एमसीसी सम्झौता छिटो अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्न सभामुखलाई हामी संयुक्त रुपमा मनाउने उल्लेख गरिएको छ । सार्वजनिक रुपमा नेपाली जनतालाई एमसीसीबारे बुझाउन नेपाल सरकारको स्रोत र साधन प्रयोग गर्ने आशय समेत उक्त पत्रमा भेटिन्छ ।

देउवा र प्रचण्डले पठाएको उक्त पत्रमा अनुमोदनका लागि केहि समयलाग्ने भन्दै समय मागिएको छ । तर संयुक्त पत्र पठाएका प्रचण्डले नै एमसीसी सम्झौता अनुमोदन गर्न नहुने अडानमा देखिएका छन्। प्रचण्डले बिहीबार पनि यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नहुने बताएका छन्।

त्यतिमात्र होइन यसमा राष्ट्रलाई आघात पर्ने बुँदाहरू भएकाले एमसीसी यथास्थितिमा पास गर्नै नहुने भन्दै भाषण गरिरहेका प्रचण्डले उक्त पत्रमा भने कुनै बुँदामा प्रश्न उठाएका छैनन् ।

एमसीसी सम्झौता अनुमोदनका लागि आफूहरु तयार रहेको भन्दै त्यसबेला केही समय मागेर पत्र पठाएका प्रचण्ड नै अहिले यसको विपक्षमा उभिएपछि थप रहस्यमय माहोल बनेको छ ।

प्रधानमन्त्री देउवाले आफू सम्झौता अनुमोदन गर्नैपर्ने दबाबमा परेको भन्दै यसलाई यथाशक्य संसदमा टेबल गर्नुपर्ने प्रस्ताव गरेपछि गठबन्धन नै टुट्ने अड्कलहरू गरिएका छन् । सत्तारुढ गठबन्धनका दलहरुले त्यसपछि एमसीसी सम्झौताबारे गठबन्धनको साझा धारणा निर्माण गर्न भन्दै कार्यदल गठन गरेपनि कार्यदलले यसबारे केहि बताएको छैन ।

मुख्यालयलाई पठाईएको पत्रमा जनतालाई एमसीसीबारे बुझाउन नेपाल सरकारको स्रोत र साधन प्रयोग गर्ने समेत उल्लेख गरिएको छ । त्यस्तै सरकारी संचारमाध्यमको प्रयोग गरेर यसबारे उठेका प्रश्न र भ्रम निवारण गर्ने समेत पत्रमा उल्लेख छ ।