प्रचण्डले देउवालाई भने: पार्टीमा कसैले मानेनन्, मेरो समस्या बुझिदिनुस् - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रचण्डले देउवालाई भने: पार्टीमा कसैले मानेनन्, मेरो समस्या बुझिदिनुस्



काठमाडौं- अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धन नै टुट्ने अवस्थामा पुगेपछि प्रमुख घटक नेकपा माओवादी केन्द्रले मध्यमार्गी प्रस्ताव अघि सारेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पारित गराउन गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने मनस्थिति बनाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदन गर्न संयुक्तरुपमा गठबन्धनका नेताले अमेरिकासँग पुन: समय माग्ने प्रस्ताव गरेका हुन्।

आज विहान बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डले एमसीसी अनुमोदनका लागि सत्ता गठबन्धनले संयुक्तरुपमा अमेरिकासँग चुनावसम्मको समय माग्न सुझाएका हुन्। भेटबारे जानकार कांग्रेसका एक नेताले निर्वाचनपछि एमसीसी अनुमोदन गर्नेगरी अमेरिकासँग कुरा गर्न प्रचण्डले देउवालाई आग्रह गरेका छन्।

‘म एमसीसीको विरोधी होइन। पार्टीमा सहमति जुटाउन सकिनँ। मेरो समस्या बुझिदिनुपर्‍यो। तपाईँले एकपटक अमेरिकी अधिकारीसँग समय माग्न कुरा अगाडि बढाउनुपर्‍यो। गठबन्धनको तर्फबाट के गर्नुपर्छ गरौँला,’ प्रचण्डको भनाइ उद्धृत गर्दै कांग्रेसका ती नेताले भने।

प्रधानमन्त्री र पार्टीभित्रबाट दोहोरो दबाबमा रहेका प्रचण्ड अमेरिकीलाई अन्तिमपटक कन्भिन्स गराएर एमसीसीमा गठबन्धनबाटै समय माग्ने र पारित गराउने निष्कर्षमा पुगेका हुन्। यसअघि उनले प्रधानमन्त्री देउवासँग मिलेर एमसीसी मुख्यालयलाई पत्र पठाउँदै समय मागेका थिए। उक्त समयसीमा फागुन १६ गते सकिँदैछ।

प्रधानमन्त्री देउवाले त्यसअगावै पारित गर्न गठबन्धनमा सहमति जुटाई बुधबार संसदमा टेबल गर्ने तयारी गरेका थिए। तर पार्टीभित्रको दबाब भन्दै प्रचण्ड सहमतिबाट यु-टर्न भएपछि टेबल हुन सकेन। माओवादी संसदीय दलले जबर्जस्ती टेबल गरे सरकार छाड्ने चेतावनी दिएको थियो। प्रचण्डले पार्टीको निर्णय सुनाउँदै बुधबार टेबल नगर्न आग्रह गरेका थिए। एकपटक गठबन्धनमा छलफल गरौं भनेर आग्रह गरेपछि देउवा ब्याक भएका थिए।

सम्पूर्ण तयारी भएर पनि एमसीसी टेबल नभएपछि बुधबारै साँझ अमेरिकी राजदूत र्‍याण्डी बेरी बालुवाटार पुगेका थिए। एमसीसी किन रोकियो भनेर उनले प्रधानमन्त्री देउवासँग चासो राखे। जवाफमा देउवाले गठबन्धनमा सहमति जुटाउन प्रचण्ड र माधवकै आग्रहमा सारिएको बताए। ‘म त टेबल गर्न तयार थिए। प्रचण्ड र नेपालले मानेनन्। सहमति जुटाउने प्रयास भइरहेको छ,’ देउवाले राजदूत बेरीलाई दिएको जवाफ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो।

प्रधानमन्त्री देउवाले शुक्रबार बस्ने बैठकमा जसरी पनि टेबल गर्ने तयारी गरिरहँदा गठबन्धन घटक भने चुनावपछि पारित गर्नेगरी अमेरिकी फकाउन र गठबन्धन जोगाउन सक्रिय भएका छन्।