एमसीसीमा देउवासँग प्रचण्डको 'ठूलो राजनीतिक लेनदेन' भएको आशंका ! - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

एमसीसीमा देउवासँग प्रचण्डको ‘ठूलो राजनीतिक लेनदेन’ भएको आशंका !



एमसीसीबाट सबैभन्दा ठूलो राजनीतिक लाभ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिन सफल भएका छन् । नेपाली काँग्रेस कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा उभिएसँगै प्रचण्डले राजनीतिक लेनदेनका लागि आफूलाई बलियो गरी प्रस्तुत गरे ।

प्रचण्डले एमसीसीलाई रणनीतिक अस्त्र बनाउन सके । एमसीसी पारित गर्ने सर्तमै गठबन्धन बनाउन सफल भएको घटनाक्रमले पुष्टि गर्दै लगेको छ ।

नेकपा अध्यक्ष थिए प्रचण्ड । एमसीसी त्यतिबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पारित गराउन खोजेका थिए । तर, तत्कालीन सभामुख कृष्णबहादुर महराको माध्यमले टेबल गर्न रोक्न सके । ओलीलाई यसले ठूलो धक्का भयो । उनले सार्वजनिक रुपमा महराको भूमिकाको विरोध गर्दै आएका छन् ।

महराको राजीनामा पछि अग्निप्रसाद सापकोटा सभामुख बने । पछि ओलीको सत्ता ढल्यो । शेरबहादुर देउवा प्रधानमन्त्री बने । प्रचण्डले देउवासँगै संयुक्त पत्र लेखेर २९ सेप्टेम्बर सन् २०२१ मा एमसीसीलाई निकास दिन पाँच महिनाको समय माग्दै अमेरिकालाई पत्र लेखे ।

एमसीसी अनुमोदन गर्नुपर्ने समयसीमा नजिकियो । प्रचण्डले त्यसविरुद्ध महाधिवेशनबाट निर्णय नै गराए । पार्टी बैठकबाट एमसीसी अनुमोदन नगर्ने निर्णय नै गराए । यसबाट देउवा झस्किए । उनलाई गठबन्धन र एमसीसी दुवै चाहिएको थियो । यसलाई प्रचण्डले राम्ररी बुझेका थिए ।

एमसीसीलाई हरेक पटक अगाडि बढाउने क्रममा प्रचण्डले राजनीतिक लेदनेन गरे देउवासँग । सदनमा टेबल गर्नका लागि पनि राजनीतिक लाभ लिन सके । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियागको प्रस्ताव दर्ता गर्न सफल भए ।

अहिले अनुमोदन गराउन पनि प्रचण्डले देउवासँग राजनीतिक लेनदेन गरेको बुझिएको छ । जसमा गठबन्धन चुनावमा तालमेल गरेर जाने, संवैधानिक निकायका नियुक्ति खारेजीका लागि भूमिका खेल्नेलगायतका विषय छन् । विश्वस्त स्रोतका अनुसार चुनावलाई पछि धकेल्नेबारे पनि भद्र सहमति भएको छ ।