प्रचण्डको 'डिमाण्ड'- भरतपुर महानगर र चार उपमहानगर हामीलाई चाहिन्छ - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

प्रचण्डको ‘डिमाण्ड’- भरतपुर महानगर र चार उपमहानगर हामीलाई चाहिन्छ



काठमाडौं- नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकासहित चार उपमहानगरपालिकाका लागि दाबी गरेको छ।

सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको आइतबार बसेको बैठकमा माओवादी केन्द्रले यस्तो दाबी गरेको हो।

बैठकमा माओवादी केन्द्रका नेता वर्षमान पुनले काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिएर तीनवटा अरू दललाई दिन प्रस्ताव गरेका हुन्।

ललितपुर र विराटनगर महानगरपालिका अघिल्लो चुनावमा कांग्रेस र काठमाडौंमा एमालेले जित हात पारेको थियो।

उनले भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी (जसपा) र पोखरा एकीकृत समाजवादीले लिने प्रस्ताव गरेको स्रोतले जनाएको छ।

वीरगञ्जमा भने गठबन्धनआवद्ध दल नेपाली कांग्रेस र जसपाको जिल्ला नेतृत्वले एक्लै चुनाव लड्ने निर्णय गरिसकेको छ।

११ उपमहानगरपालिकामध्ये जितपुर–सिमरा, हेटौंडा, घोराही र धरानको नेतृत्वमासमेत माओवादी केन्द्रले दाबी गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनमा भागबन्डाको विषयमा छलफल भएको बताए।

‘निर्वाचनमा सिद्धान्ततः कसरी जाने भन्ने छलफल भइसकेको छ। यसलाई कसरी व्यवस्थित बनाएर जाने, कुन स्थानीय तहमा कुन उम्मेदवार खडा गर्ने, ती उम्मेदवारलाई कसरी निर्वाचित गराउने विषयमा छलफल भएको छ,’ उनले भने।

कार्कीले अर्को दिन पनि यस विषयमा छलफल हुने बताए।