एमसीसीको कुरा उठेपछि प्रचण्डसँग चिनियाँ नेताको रहस्यमय संवाद - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

एमसीसीको कुरा उठेपछि प्रचण्डसँग चिनियाँ नेताको रहस्यमय संवाद



काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट पारित गर्ने तयारी गरिएपछि चीनले यसबारे ठुलो चासो ब्यक्त गरेको छ । एमसीसीबारे चर्काचर्की शुरु भएपछि जहिले पनि चिनियाँ नेताहरुले नेपाली राजनीतिक दलका प्रमुख पात्रसँग कुराकानी गर्ने गरेका छन् ।

मंसिरमा संसद आह्वान गर्दा पनि चिनियाँ नेताहरुले कांग्रेस, एमाले, माओवादी र एस पार्टीका नेताहरुलाई टेलिसम्वाद गरेका थिए । यसअघि पनि चीनले एमसीसीको बिषयमा चासो ब्यक्त गर्ने गरेको नेताहरूले नै बताउने गरेका छन् । अहिले पनि सत्ता गठबन्धनभित्र एमसीसीबारे चर्को छलफल चलेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लामो भिडियो कुराकानी गरेका छन् ।

गठबन्धनको बैठक सकिएपछि प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको कुराकानी हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बाम गठबन्धन बनाउनका लागि भएभरको बल लगाएर पनि असफल भएको चीनले यसपटक एमसीसी पारित गर्नबाट रोक्न सक्छ या सक्दैन त्यो हेर्न बाँकी छ ।

प्रचण्ड निकट स्रोतले दिएको जानकारी अनुसार माओवादी केन्द्रलगायतका दलहरूलाई एमसीसीको विरुद्धमा उभिन चीनले लगातार दवाव दिइरहेको छ । चीनले एमसीसी सहायता इन्डो प्यासेफिककै अङ्ग भएको भन्दै यो सम्झौता नेपालकै लागि पनि घातक हुने बताउने गरेको छ । देउवाले दबाब दिएलगत्तै चिनियाँ नेतासँग भएको लामो छलफललाई पनि यसैसँग जोडेर हेरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई एमसीसीमा सहयोग गरेको खण्डमा मात्रै गठबन्धन रहने भन्दै चेतावनी दिएको स्रोतले दाबी गर्छ तर गठबन्धनकै दलहरू माओवादी र एकीकृत समाज्वादीका नेताहरूले भने यसलाई स्वीकार्न तयार छैनन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे आइतबार छलफल भएको र देउवाले दबाब दिएको र गठबन्धनमा सहमति समेत बनेको दाबी गर्छन ।

यस्तो अवस्थामा माओवादी अध्यक्ष प्रचण्डले चिनियाँ नेतासँग गरेको संवादलाई अर्थपूर्ण रूपमा लिनुपर्ने कांग्रेसका नेताहरू बताउँछन् । कांग्रेसका एक नेताका अनुसार चीनले कांग्रेस र कम्युनिष्ट मिलेको गठबन्धन समेत मन पराएको छैन । त्यसैले पनि यस्तो उपयुक्त समय हेरेर उक्साएको हुनसक्ने उनको दाबी छ ।

स्रोतका अनुसार सुङले चीन नेपाल मित्रता, वल्र्ड इकोनोमिक फोरममा सीपीसी महासचिव सी चिनफिङको धारणा र नेपालको संसदमा पेश हुने तयारीमा रहेको एमसीसीबारे छलफल भएको थियो । यही क्रममा माओवादीका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पास गर्ने सहमति नभएको धारणा सार्वजनिक गरेका छन् । तर उनले प्रचण्ड र सुङबीच भएको कुराकानीबारे केही बताएका छन् ।

‘कुनै भ्रममा नपरौं ; प्रमले एमसीसीसँगको सँझौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन । गठबन्धनमा एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन’, श्रेष्ठले भनेका छन् । यसले गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटनसक्ने संकेत गरेको विषयचाहि बढी बलशाली हुँदै गएको देखिन्छ ।

‘देउवाले एमसीसी पास गर्नुपर्नेछ चाडैनै निर्णय दिनुस भनेको कुरा सही हो उहाँहरुलाई चुनावी गठबन्धन गर्नुपर्ने बाध्यता छ देउवालाई एमसीसी पास गर्नुपर्ने बाध्यता छ त्यसकारण यीनै दुई शर्तमा गठबन्धन अघि बढ्न पनि सक्छ’, कांग्रेसका एक पदाधिकारीले भने । गठबन्धनभित्र एमसीसी पास नगर्ने पक्षमा प्रचण्ड र माधव नेपाल रहेका छन् । कांग्रेसले जसरी पनि पास गर्नुपक्षमा रहेको छ । यतिबेला एमालेलाई भने हाइसन्चो भएको छ । तर उच्च स्रोतका अनुसार एमालेले एमसीसी संसदमा ल्याउन दिने र संसदबाट छलफल गरेर अघि बढ्न सरकारलाई आग्रह गरेको छ ।