ओली समूहलाई प्रचण्डले दिए यस्तो चेतावनी
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेले हेपेको भन्दै नहेप्न चेतावनी दिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्दै दाहालले माओवादी केही होइन भन्ने मानसिकता हटाउन पनि आग्रह गरे ।
‘धेरै जसोलाई संसद पुनस्थापना भएकोमा आनन्द भएको छ । मैले बुझ्छु नी नबुज्ने होइन । विवेक प्रयोग गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिऔँ इतिहास लेखौँ,’ उनले भने, ‘माओवादी केही होइन यसलाई मिचिदिए हुन्छ भन्ने ठाने केही साथिहरुले । फुटेको छ । यो केही होइन भनेर आगोसँग खेल्ने काम त्यति राम्रो होइन । हेप्न थाल्नु भयो, अपमान गर्न थाल्नु भयो भने आगो फेरि सल्किन थाल्छ ।’ उनले एमालेले माइनस गर्न खोजेको भन्दै आपत्ति जनाए ।
दाहालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा नबोलेको भन्दै प्रश्न सोधे । दाहालले भने, ‘संअस्वाभाविक लाग्यो मैले पटकपटक प्रमुख सचेतकलाई सोधेँ – निवर्तमान प्रधानमन्त्री आउनुहुन्छ नि ? उहाँ बोल्नुहुन्छ नि ? मैले आज तीनपटक सोधेँ । मलाई प्रमुख सचेतकले भन्नुभयो – आउनुहुन्छ, उहाँ नै बोल्नुहुन्छ ।’
संसद्मा ओलीको कुरा सुन्न चाहेको भन्दै उनले भने, ‘मैले सामान्यरुपमा सोचेको थिएँ – पुनस्थापित संसद्को बैठकमा पूर्व प्रधानमन्त्रीको हैसियतले पनि, प्रतिपक्ष दलको प्रमुख नेताको हैसियतले पनि यो सदनले ओली जीको नयाँ कुरा सुन्न चाहेको थियो । र, मुलुकले पनि आजको दिन सदनको रोष्टमबाट निवर्तमान प्रधानमन्त्रीले के चाहीँ भन्नुहोला भन्ने सुन्न चाहेको थियो । त्यो पनि भएन । यो पनि मलाई अलिकति अस्वाभाविक जस्तो लागेको छ । यो लोकतान्त्रिक संस्कार होकी अलोकतान्त्रिक ?’
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछुतो गरे ।
‘हुन त पूर्ववक्ता माननीयले विगतका अनुभव सुनाउनुभयो’, अध्यक्ष दाहालले भने, ‘तर दुई तिहाइ बहुमतका प्रधानमन्त्रीले आफ्नो बहुमत हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेको भन्दा यो अनौठो घटना हो । यो बिडम्बना मैले बोल्नुपर्दा, जसले गठबन्धनबाट राजनीतिक स्थायित्व होला भन्ने प्रस्ताव ल्याएको मान्छेले सदनको अघि उभिँदा मेरो अनुभूति के होला ? यस्तो दुर्दशा यति छिटो देख्नुपर्ला भनेको भए किन एकताको प्रस्ताव गर्थेँ होला ?’
पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा अर्कै मञ्चमा बहस गर्नेसमेत दाहालले सदनमा घोषणा गरेका छन् । ‘संविधान मिलेर बनायौँ, निर्वाचन मिलेर लड्यौँ । एउटा सपना र परिकल्पना गरेका थियौँ । पाँच वर्ष नपुग्दै संसद् विघटन र पुनस्थापना भएको छ’, उनले भने,’अब विषयमा थोरै भन्दा आठ/१० मिनेटमा कुरा सक्ने भनिएको छ । लामो गर्न सम्भव पनि छैन । अर्को मञ्चमा विस्तारै बहस गर्न पाउने छौँ, सायद ।’