प्रचण्डकाे सय पेज लामो राजनीतिक प्रतिवेदनका मुख्य १० बुँदा यस्ता छन् - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

प्रचण्डकाे सय पेज लामो राजनीतिक प्रतिवेदनका मुख्य १० बुँदा यस्ता छन्



काठमाडौं- माओवादीको आठौँ महाधिवेशनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ को राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गरेका छन् । महाधिवेशनको सम्मुखमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले प्रतिवेदनका महत्त्वपूर्णपूर्ण अंश वाचन गरेर सुनाएका थिए ।

प्रचण्डले सुनाएको झण्डै १ सय पृष्ठ लामो प्रतिवेदनमा संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्यबारे विश्लेषण गरिएको छ । त्यस्तै, उनले पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन, नेपाली पुँजीवादीमाथिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति र कार्यनीति, समाजवादको आधार निर्माणसँग सम्बन्धित सैद्धान्तिक प्रश्न तथा पार्टीका तात्कालिक नीति, कार्यक्रम र योजनाको रूपरेखाबारे विस्तृत रूपमा प्रतिवेदनमा उल्लेख गरेका छन् ।

केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले वाचन गरेर सुनाएको प्रतिवेदनका मुख्य १० बुँदा

-जनताको लामो सशस्त्र एवंम शान्तिपूर्ण र बलिदानपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूमाथि प्रतिगामी हमला बढेर गएको छ । समावेशी र समानुपातिक चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्टाउन निरंकुश तत्त्वहरूले टाउको उठाइरहेका छन् । विभिन्न नाम र रूपका दक्षिणपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी बढ्दो छ । देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप बढाएर लगेको छ ।

-वाम–लोकतान्त्रिक मोर्चावन्दी र व्यापक जनदबाबका कारण तत्कालीन र कार्यनीतिक रूपमा देशीविदेशी र प्रतिक्रियावादीहरूको प्रतिक्रान्तिकारी षड्यन्त्रको योजना असफल भएको छ । तर, रणनीतिक रूपमा प्रतिक्रान्तिकारी षड्यन्त्र गर्ने प्रयत्न्न भने रोकिएको छैन ।

-हिजो जनयुद्ध र जनआन्दोलनबाट पराजित सामन्ती तत्त्वहरू, दलाल नोकरशाही र तिनका पृष्ठपोषक राजनीतिक दलहरू एकातिर एवम् मजदुर, किसान, राष्ट्रिय पुँजीपति वर्गसम्म र पहिचान पक्षधर राजनीतिक शक्ति, जाति क्षेत्र, लिंग, समुदाय, देशभक्त बुद्धिजीवीसम्म अर्काेतिर ध्रुवीकृत बनेर संर्घष चलिरहेको तथ्य सजिल्यै देख्न सकिन्छ ।

-यो ऐतिहासिक रुपले अनिवार्य संर्घषका लागि, विजयका लागि अन्ततः वाम लोकतान्त्रिक शक्तिहरूले आफनो विचारलाई अझ स्पष्ट र धारिलो पार्नु, आफनो राजनीतिक मुद्दालाई ढृढताका साथ जनसमुदायमा स्थापित गर्नु र आफनो आचरणलाई जनहितअनुकूल बनाउन अझ जोड लगाउन आवश्यक छ ।

-महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको प्रमुख नेतृत्वकर्ता एवं संविधानसभा, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणालीसहितको धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुखवाहक शक्ति हुनुको नाताले यो परिवर्तनको रक्षा, विकास र परिमार्जनमा पनि हाम्रो पार्टीको प्रमुख जिम्मेवारी रहेको छ ।

-केही वर्षदेखि स्वयम् हाम्रो पार्टीमा देखा परेको वैचारिक राजनीतिक अस्पष्टता, संगठनात्मक विभाजन एवं गुटवादी अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरीसमेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकेनौँ ।

-यसको विषयमा हाम्रो पार्टीले गम्भीरताका साथ समीक्षा गर्दै सही विचार, राजनीतक कार्यदिशाको विकास गर्नुका साथै तदनुकूल संगठनात्मक संरचना एवंम कार्यशैलीको विकासमा जोड लगाउनु सर्वाधिक ध्यान दिनुपर्छ ।

-वित्तीय पुँजीवादका रूपमा व्यक्त भइरहेका विश्व भूमण्डलीकृत साम्राज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभाव र आजको उत्पादक शक्ति र उत्पादनको वस्तुवादी आकलन गरेर तथा हाम्रो आफनै आर्थिक, राजनीतिक, सामाजिक विकासको ठोस अवस्थाको ठोस विश्लेषण र संश्लेषण गरेर मात्र विचारको विकास र स्पष्टता हासिल गर्न सकिन्छ ।

-वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा उभिएर सही विचारधारात्मक राजनीतिक कार्यदिशाका आधारमा क्रान्तिकारी पार्टी र क्रान्तिकारी रुपान्तरणको ठोस आधार प्रस्तुत गर्ने चुनौती आज हाम्रो अगाडि छ । एक्काइसौँ शताब्दीमा विश्वकै पछिल्लो क्रान्तिकारी आन्दोलनको नेतृत्वकर्ताको हैसियतले जनतामा रहेको कम्युनिस्ट आन्दोलनप्रतिको भरोसाको दृष्टिले तथा विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको अन्तरविरोधको केन्द्रीकरणको विशेष स्थितिसमेतका कारण क्रान्तिकारी विचार, आन्दोलन, अवसर र चुनौती दुवै हाम्रो अगाडि छन् ।

-विगतको निर्मम आत्मसमीक्षा, वर्तमानको वस्तुवादी विश्लेषणका आधारमा समाजवादी क्रान्तिको भविष्यको सपष्ट रुपरेखा खिच्नु छ । हाम्रो यो आठौँ राष्ट्रिय महाधिवेशनले आफनो मुख्य ध्यान विचार संश्लेषणको त्यही ऐतिहासिक कार्यभार पूरा गर्ने कुरामा दिनेछ ।