प्रचण्डको ब्रिफिङ : गठबन्धन टुटे बर्बाद हुन्थ्यो, त्यसैले एमसीसी टेबल गर्न दिनुपर्यो - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

प्रचण्डको ब्रिफिङ : गठबन्धन टुटे बर्बाद हुन्थ्यो, त्यसैले एमसीसी टेबल गर्न दिनुपर्यो



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले आफूनिकट नेताहरूलाई सत्तारूढ गठबन्धन टुटेको अवस्थामा पार्टीको बेहाल हुने ब्रिफिङ गरेका छन् ।

गठबन्धनबिना पार्टी चुनावमा गए अप्ठेरो पर्ने निष्कर्षसहित प्रचण्डले सोमवार आफ्नो निवास खुमलटार पुगेका नेताहरूलाई एमसीसी संसदमा टेबल भएर खासै केही नबिग्रेको बताएका हुन् ।

प्रचण्डलाई भेट्न जाने एक नेताले भने, ‘गठबन्धन पनि नटुट्ने र एमसीसी पनि संसदमा पास हुन नदिने रणनीतिमा अध्यक्ष लाग्नुभएको पायौं । नेतृत्वले गरेको निर्णय हामीले मान्नैपर्ने हुन्छ ।’

ब्रिफिङका क्रममा प्रचण्डले एमसीसीमा मतदान गर्न कुनै व्हीप नलाग्ने बताएका थिए । ‘सरकारमा जो मन्त्री हुनुहुन्छ, उहाँ उपस्थित भए पनि भयो, नभए पनि भयो । अरू सांसदहरूलाई पनि पक्ष या विपक्षमा मत दिनुपर्ने बाध्यता हुँदैन,’ प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले हिमालपोस्टसँग भने ।

लामो समयको रस्साकस्सीपछि आइतवार अमेरिकी सहायता परियोजना (एमसीसी) संसदमा टेबुल भएको थियो । टेबुल गर्ने क्रममा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले चर्को विरोध जनाएका थिए ।

यता बानेश्वरमा प्रदर्शनसमेत भएको थियो । प्रदर्शनमा माओवादी तथा नेकपा एसका दर्जनौं कार्यकर्ता घाइतेसमेत भएका थिए ।

सत्ता गठबन्धन टुटेमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर अर्को सरकार बनाउने र आफू कर्नरमा परिने भय प्रचण्ड र माधवकुमार नेपाललाई छ । एमसीसीमा आफ्नो असहमति जाहेर गर्दै पास गर्न दिने तर सत्ता गठबन्धनलाई चुनावसम्मै लैजान दुवै नेताहरूलाई दबाब छ ।

एमसीसीबारे प्रतिपक्षी दल नेकपा एमालेले भने अहिलेसम्म आफ्नो सार्वजनिक धारणा दिएको छैन । एमसीसी टेबल गर्ने क्रममा एमालेका सांसदहरूले पहिला जस्तै संसद अवरोध गरिरहेका थिए । अध्यक्ष ओली गठबन्धन भत्काउने कसरतमा छन् ।

तर प्रचण्ड र नेपालले एमसीसी संसदमा टेबुल गर्न दिने सहमति दिएपछि गठबन्धन नटुट्ने सम्भावना बढेको छ भने ओलीको प्रयास असफल हुने दिशातिर अघि बढेको छ ।