प्रचण्डले भने - दुईओटा बम पड्केर शान्तिसुरक्षा बिग्रदैन - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

प्रचण्डले भने – दुईओटा बम पड्केर शान्तिसुरक्षा बिग्रदैन



काठमाडौं -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्दलाई बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने सुझाव दिएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने पनि उल्लेख गरे ।

‘राजनीतिक स्थिरता आएकै छ’ उनले भने, ‘एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्नु हुँदैन ।’

फेरि पनि हिंसाका घटना भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदा प्रचण्डले भने, ‘बम आतंक फैलाएर मात्र राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने कुरा ठान्नु विल्कुल सही छैन ।’

सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द समूहको गतिविधि अब धेरै अघि नजाने संकेत प्रचण्डले गरे । ‘मलाई लाग्छ यो अन्तिम अन्तिम हुनुपर्छ । उहाँहरु अन्तत वार्तामा आउनुको विकल्प छैन’ उनले भने, ‘शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प छैन ।’

अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको उल्लेख गर्दै प्रचण्डले यतिबेला सबै मिलेर विकास निर्माण र समृद्धितिर समाजवादको नयाँ ढंगले तयारी गर्नतिर लाग्नुपर्नेमा जोड दिए ।

‘बन्द इत्यादि जुन उहाँहरुले गरिरहनु भएको छ, सायद प्रकारान्तरले यो वार्ताको वातावरण बनाउनकै लागि गरिरहेको हो भन्ने मलाई लागिरहेको छ’ प्रचण्डले भने ।