एकाएक फेरियो प्रचण्डको बोली - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

एकाएक फेरियो प्रचण्डको बोली



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा विवाद चर्किएर पार्टी विभाजन हुने आंकलन गरिएको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकाएक बोली फेरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजिनामा गर्न दवाव दिएका प्रचण्डले त्यो भन्दा फरक आशयको अभिव्यक्ति दिएका छन् ।

शनिबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले प्रतिक्रियावादीहरूले प्रधानमन्त्री ओली र आफ्नोबिचमा फाटो ल्याउन खोजेको बताएका छन् । चितवनको माडीमा नेता/कार्यकर्तासँग भएको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको विवादबारे बताउँदै आफूले हतार गरेको भए देश र पार्टी दुर्घटनामा पर्न सक्ने समेत बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डसहित शीर्ष नेताले स्थायी कमिटी बैठकमै राजीनामा मागेपछि नेकपाभित्र विवाद जारी छ। अध्यक्ष प्रचण्ड शुक्रबारसम्म प्रधानमन्त्री ओलीले राजिनामा गर्नुपर्ने अडानमा थिए । यस्तो अवस्थामा उनले प्रतिक्रियावादीहरूलाई दोष दिएर प्रधानमन्त्री ओली र आफूबीचको छलफल सहमति नजिक पुगेको संकेत समेत दिएका छन् ।

प्रचण्डले भने, ‘हतारमा केहि कुरा गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा सतर्क छौं, ‘म पार्टीको एउटा अध्यक्ष। मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु। मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ।’

उनले कोरोना महामारीका बेला प्रतिक्रियावादीहरूले अनावश्यक रूपमा खेल्न खोजेकाले पार्टीमा केहि असमझदारी बढेको बताए। प्रधानमन्त्री ओलीको राजिनामाबाट पछि नहट्ने बताइरहेका प्रचण्डको यो अभिव्यक्तिले ओली-प्रचण्डबीच असमझदारी हटिसकेको संकेत समेत गरेको छ ।

‘परिवर्तन बचाउने लडाइँ पनि छ यो। यो कोरोनाको कारणले अरू नै केहि हुने हो कि भन्याजस्तो। या पार्टीभित्रको विवाद चर्काइदिएर किनकी प्रतिक्रियावादीहरू के चाहन्छन् भने एकातिर गएर केपी ओलीलाई छोड्न हुन्न यो बेला भनिदिने। अर्कोतिर प्रचण्डलाई गएर छोड्न हुन्न यही बेला भन्दिने पनि देखिएको छ। तपाईंहरू त्यस्तोमा नलागिदिनुहोला। हामी जित्छौं,’ प्रचण्डले भने।

उनले कहिँ कसैले कुनै पनि बाहनामा पार्टी एकता कमजोर बनाउन नहुने बताए। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको पछिल्लो भेटका संकेत सकरात्मक देखिएको भन्दै प्रचण्डले छिटै पार्टीभित्रका समस्याको हल खोजिने बताएका हुन्।

‘हामी कुनै न कुनै समझदारीमा पुग्छौं। अप्ठेरो भए पनि हामीले जनतालाई र देशलाई अगाडि राखेर प्रतिवद्धता गरेर सोच्यो भने हल निस्किन्छ,’ प्रचण्डले भने, ‘प्रधानमन्त्रीको संकेत पनि हल गर्नुपर्छ भन्ने नै छ।’

उनले सडकमा भइरहेका प्रदर्शनतर्फ लक्षित गर्दै कार्यकर्तालाई हतार गरेर कुनै गतिविधि नगर्न पनि आग्रह गरे। ‘हतार गरेर कुनै गतिविधि गर्न जरूरी छैन,’ प्रचण्डले भने।

आफू प्रधानमन्त्रीसँगकै परामर्शमा बाढीपहिरोको अवस्थाबारे बुझ्न चितवन आएको उनले बताए। पार्टीभित्रको आन्तरिक कुरा छलफलबाटै टुंगिने र पार्टी एकता थप बलियो उनले प्रचण्डको भनाइ थियो।