चार दिन नबित्दै प्रचण्डले बोली फेरे
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार दिनमै बोली फेरेका छन् । चितवनको एक कार्यक्रममा उनले बोलेको बोली अहिले आफैले फेरेका छन् ।
उनले आफ्नी छोरीलाई जिताइएन भने देश दुर्घटनामा पर्छ भनेर आफूले कतै पनि टिप्पणी नगरेको भन्दै बोली फेरेका छन् । प्रचण्डले उल्टै आफूविरुद्ध हल्ला फैलाएको भन्दै गुनासो गरेका छन् ।
आफूले देशको स्थायित्वका लागि यस्तो भन्दा एकथरिले यस्तो गलत हल्ला फैलाएको प्रचण्डको भनाइ थियो। सोमबार धनगढी उपमहानगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले चितवनमा आफूले गरेको भाषणको वचाउ गरेका हुन्।
उनले गठबनले २२ गते चितवनमा आयोजना गरेको सभामा छोरी रेनु दाहालका लागि भोट माग्दै मत नदिए देश दुर्घटनामा पर्छ भनेका थिए।
‘यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो। समृद्धि र विकासको आवश्यकता हो भन्ने तपाईं चितवनबासीलाई लाग्छ र रेणु दाहाल र चीत्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १५/२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ,’ प्रचण्डले भनेका थिए, हाल्नुभएन भने देश नै दुर्घटनामा पर्छ।’
तर उनले सोमबार आफूले कहि पनि छोरीलाई जिताइएन भने देश दुर्घटनामा पर्छ भनेर नभएको बताए। ‘मैले कहि पनि छोरीलाई (रेनु दाहाल)लाई जिताएन भने देश दुर्घटना हुन्छ भनेर चेतावनी दिएको छैन’प्रचण्डले भने, ‘तर एकाथरीले गलत हल्ला फैलाए। मैले गठबन्धनले निर्वाचन नजित्दा गलत व्यक्तिहरुले जित हात पार्ने र यसले देश दुर्घटनामा पर्ने भनेको हो।’
गठबन्धन किन आवश्यक छ भन्ने कुरा अहिले धेरै गहिरो भएको उनको भनाइ थियो।अहिले गठबन्धनलाई कसरी विभाजन गर्न सकिएला भनेर केही तत्व लागेको र यसका लागि विभिन्न प्रयास भइरहेको उनको भनाइ थियो। त्यस्तो तत्वले शीर्ष नेतृत्वमा असमझदारी होस् भन्ने चाहेको तर त्यो हुन नसक्ने उनको दाबी थियो।
गठबन्धले देश दुर्घटनाबाट बचाएको बताउँदै उनले अब पनि गठबन्धन आवश्यक रहेको तर्क गरे।