प्रचण्डले दुई सातामै फेरे बोली - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

प्रचण्डले दुई सातामै फेरे बोली



काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई सातामै एकाएक बोली फेरेका छन् । यसअघि देशकै ठुलो पार्टी माओवादी बन्ने घोषणा गरेका प्रचण्डले बुधबार भने मधेशमा मात्रै आफ्नो पार्टी सबैभन्दा ठुलो बन्ने बताएका छन् ।

महोत्तरी पुगेका प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी मधेसको पहिलो पार्टी बन्ने दाबी गरेका छन्। महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेसको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका हुन्।

“चुनावमा जनताले नक्कली जलपबालालाई बढार्नेछन्”, प्रचण्डले भने, “मधेस र मधेसी जनताको मुक्तिको शङ्खनाद हामीले गरेका हौँ, मधेसी जनताले आगामी निर्वाचनमा पहिलो मत दिएर हामीलाई नम्बर एक बनाउने छन्।”

यसअघिका मधेशका भ्रमणमा मधेससँग आफ्नो गहिरो ‘प्रेम’ परेको उनको भनाइ छ। आफैँले दुई पटक मधेसी जनताको हक अधिकारका निम्ति संविधान संशोधनको प्रस्ताव लगेको प्रसङ्ग सम्झाउँदै उनले त्यतिखेर सफल हुन नसकेको त्यो कुरा अब पहिलो पार्टी बनेर पूरा गर्ने बताए।

“हामीले संविधान संशोधन गरेर मधेस मुद्दा सम्वोधन गर्ने जमर्को गर्‍यौँ” प्रचण्डले भने, “तर संविधान संशोधनका लागि आवश्यक बहुमत नभएको हुँदा सम्भव भएन।”

त्यतिखेर संविधान संशोधन प्रस्ताव एमालेको असहयोगले असफल भएको प्रचण्डले उल्लेख गरे। पछिल्लो न्यायालयभित्र देखिएको समस्या केही दिनभित्रै हल हुने उनको भनाइ छ।

प्रचण्डले रागोपालपुर नगरपालिकाका वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ मा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको पनि जनसभाबाटै सेवा प्रारम्भ भएको घोषणासाथ उद्घाटन गरे।

महोत्तरीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि शैक्षिक विकासका लागि निरन्तर आफ्नो प्रयत्न जारी रहने प्रचण्डले प्रतिबद्धता जनाए। समारोहमा माओवादी केन्द्रका स्थायी कमिटी, केन्द्रीय कमिटीका सदस्य र सांसदहरुको उपस्थिति थियो।