विष्णु पौडेललाई प्रचण्डले सोधे: पार्टीको महासचिव कि कसैको कारिन्दा ? - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

विष्णु पौडेललाई प्रचण्डले सोधे: पार्टीको महासचिव कि कसैको कारिन्दा ?



काठमाडौं- ‘मलाई अचम्म चाहिँ के लाग्न थाल्यो भने, तपाईंहरू जत्तिको नेता भनिएका मान्छे नेता नभएर दास जस्तो किन हुनु भा’छ ।’

शुरुमै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अरु दिन भन्दा फरक किसिमले यसरी भएपछि पहिला शंकर पोखरेलले जवाफ दिए, ‘यो डेडलक खुलाउने सन्दर्भका विषयहरूलाई जे–जसरी अर्थ लगाए पनि आखिरमा हामीले चाहेको, तपाईंले चाहेको कुरा एउटै न हो, निकास…!’

अनि, प्रचण्डले महासचिव विष्णु पौडेलतिर हेरेर भने, ‘तपाईं त पार्टीको महासचिव हो नि ! महासचिवको जस्तो भूमिकामा आउनु पर्‍यो ।’

यसरी पार्टीका एउटा अध्यक्षको सन्देश वाहक भएर पुगेका जिम्मेवार नेताहरूलाई अर्का अध्यक्षले त्यस्तो संज्ञा दिएपछि शनिबारको खुमलटार भेटघाटमा केही असहजता देखियो । यस्तो हुनुको कारण थियो, प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको सन्देश लिएर पुगेका नेताहरूले एकोहोरो उतैको कुरा मात्र सुनाउनु र त्यसैलाई मानिदिनु पर्ने प्रस्ताव दोहोर्‍याइरहनु । यस्तो भएपछि प्रचण्डले ‘पार्टी नेताले त पार्टी मिलाउने गरी पो कुरा गर्नुपर्छ, कुरा यस्तो छ, यसमा मानिदिनुस् भन्ने पनि कुनै प्रस्ताव हुन्छ ?’ भन्दै असन्तुष्टि पोखेका थिए ।

खासमा विष्णु पौडेल, शंकर पोखरेल र जनार्दन शर्माहरू दुई सातादेखि अवरुद्ध दुई अध्यक्षबीचको संवाद सुचारु हुनुपर्ने ध्येयसहित त्यहाँ पुगेका थिए । प्रचण्डले शुरुमै भने, ‘निकास निकाल्ने हो भने वार्ता गरौं ।’ अनि, थपे, ‘केपीजीमा हामीले सोचेकोभन्दा बढी र अचम्म खालको अहम् देखियो । यस्तो अहम्ले पार्टी र मुलुकलाई क्षति गर्ने बाहेक अर्को निकास दिँदैन ।’

त्यसपछि आइतबार र सोमबार पूर्व एमाले अध्यक्ष झलनाथ खनालको उपस्थितिबीच कुराकानी त चले । तर, निकास भने निस्किएन । बरु, दुबैतिर आ–आफ्नो ढंगका कुराकानी चलिरहेका छन् । विष्णु र शंकरले शनिबार ‘मंसिरमा महाधिवेशन गरौँ, तपाईं त्यही महाधिवेशनबाट अनुमोदित अध्यक्ष बन्ने’ भनी बालुवाटारको सन्देश राखेका थिए ।

तर, यति कुरा राखेर विष्णु र शंकरले सुनाए, ‘उहाँ (ओली) चाहिँ वार्ता गर्दिनँ, मेरो कुरा यही हो, यसमा मानेर जाऔं भन्नु हुन्छ ।’ यसपछि हो, ‘दास’ भन्दै प्रचण्ड पड्किएका । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।