प्रचण्डबिरुद्ध राष्ट्र संघमा मुद्दा : अब के हुन्छ ? - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

प्रचण्डबिरुद्ध राष्ट्र संघमा मुद्दा : अब के हुन्छ ?



काठमाडौं । एक दशक लामो सशस्त्र हिंसाका समयमा माओवादीले बाल लडाकूका रुपमा प्रयोग गरेका लेनिन विष्टले आफुहरूमाथि अन्याय भएको भन्दै राष्ट्र संघसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

बालबालिका तथा सशस्त्र हिंसामा परेकाहरूका लागि राष्ट्र संघीय महासचिवका विशेष प्रतिनिधिलाई बेल्जियमको ब्रसेल्समा भेट गर्दै उनले ज्ञापन पत्र बुझाएका हुन् । विष्टले विशेष प्रतिनिधि भर्जिनिया गम्बालाई भेटेर आफ्ना माग समेटिएको पत्र बुझाएका हुन् ।

लेनिनसहित तीन हजारभन्दा बाल सैनिकलाई माओवादीले सशस्त्र हिंसाका समयमा प्रयोग गरेको तर शान्ति प्रक्रियामा आएपछि अनमिनले गरेको वर्गीकरणमा अयोग्य भन्दै सेना समायोजनामा पारिएको थिएन ।

समायोजनमा नपारिएपछि उनीहरुको शिक्षादिक्षा, स्वास्थ्य, वृत्तिविकासलगायतमा सरकार र माओवादी कुनै पक्षले पनि वास्ता नगर्दा उनीहरुको जीवन अफ्ठेरोमा पर्दै गएको भन्दै उनीहरुले राष्ट्रिय अन्तर्राष्ट्रियस्तमा आवाज उठाउँदै आएका छन् ।

बाल लडाकूका तर्फबाट विष्टले नेतृत्व लिँदै आएका छन् । उनै विष्ट हालका दिनमा नेदरल्याण्ड सरकारको निमन्त्रणमा नेदरल्याण्डसहित यूरोप भ्रमणमा छन् ।

उनले आफूहरुमाथि लगाइएको अयोग्यको ट्याग हटाउन, युद्धमा बालबालिकाको दुरुपयोगसम्बन्धमा तात्कालीन नेतृत्वले जिम्मेवारी लिनुपर्ने, बालअधिकारको प्रत्याभूतिका साथै राज्य र तात्कालीन पार्टी नेतृत्वलाई उत्तरदायी बनाउन, शिक्षादिक्ष, स्वास्थ्य जस्ता न्यूनतम मानव अधिकारबाटसमेत बन्चित बनाइएका उनीहरुलाई न्यायिक ढंगले संबोधन गर्नुपर्ने, बन्दी बनाइएका सबै माओवादी लडाकालाई बिना शर्त छाड्नुपर्नेलगायतका माग राखेका छन् ।

उनले बालबालिकालाई सशस्त्र हिंसामा प्रयोग गर्ने दोषीलाई कार्वाही हुनुपर्ने माग पनि गरेका छन् । उनले अप्रत्यक्ष रुपमा तात्कालीन माओवादी नेतृत्व पुष्पकमल दाहाल, बाबुराम भट्टराई, रामबहादुर थापासहितका नेतातर्फ औला ठड्याएका छन् ।