आकाश खसेन र धर्ति भासिएन भने निर्वाचन कसैले रोक्न सक्दैन:- प्रचण्ड - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

आकाश खसेन र धर्ति भासिएन भने निर्वाचन कसैले रोक्न सक्दैन:- प्रचण्ड



 

हिमालपोष्ट/बैशाख ८,

आकाश खसेन र धर्ति भासिएन भने निर्वाचन कसैले रोक्न नसक्ने प्रचण्डले उद्घोष गरेका छन ।अखिल (क्रान्तिकारी) र बाइसिएल झापाको संयुक्त सम्मेलनको हिजो उद्घाटनमा बैशाख ३१ गते घोषणा गरिएको निर्वाचन कुनै हालतमा नरोकिने प्रचण्डले बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘कतिपयमा बैशाख ३१ गते निर्वाचन हुँदैन कि भन्ने आशंका छ । तर, आकाश खसेन र धर्ति भासिएन भने निर्वाचन कसैले रोक्न सक्दैन । निर्वाचन रोक्न विभिन्न चलखेल सुरु भएका छन् । तर, सरकार हरहालतमा बैशाख ३१ गते नै निर्वाचन सम्पन्न गर्न लागिपरेको छ । सरकारको निर्वाचन सम्पन्न गर्ने अभियानमा कसैले अवरोध गर्‍यो भने मैले जनतालाई अपील गर्नेछु, सिङ्गो देश त्यसका विरुद्ध उभिनेछ र निर्वाचन सम्पन्न भइछाड्ने छ ।’
स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जित्ने प्रचण्डले बताए । ‘बैशाख ३१ गते हुने निर्वाचन गाउँ पञ्चायत वा गाउँ विकास समितिको निर्वाचन होइन । गाउँ–गाउँमा सिंहदरबार खडा गर्ने गाउँ सरकारको निर्वाचन हो । निमूखा जनता सिंहदरबार छिरेर आफ्नो अधिकार लिन सक्दैनथे, त्यसैले सरकारले गाउँगाउँमा सिंहदरबार पुर्‍याइदिएको छ ।

निर्वाचनको विरोध गर्ने शक्तिहरु पनि चुनावमा आउनैपर्ने प्रचण्डले बताए । उनले भने ‘माओवादीले नजितोस् । तर, निर्वाचन सम्पन्न हुँदा देशले जित्छ । मैले मधेशी मोर्चाका नेताहरुलाई पनि भनेको छु, तपाईहरु निर्वाचनमा आउनुहोस्, निर्वाचनमा आउनु भएन भने तपाईहरुले ऐतिहासिक गल्ती गर्नुहुनेछ, जुन गल्ती भोलि सच्चाउन असम्भव हुनेछ । जनताबाट अलग भएर राजनीति गर्ने सोंच तपाईहरुकै लागि आत्मघाती हुनेछ ।’
सभामा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्की, माओवादी केन्द्रका नेताहरु वर्षामान पुन, गोपाल किराँती, धर्मशिला चापागाईं लगायतका वक्ताहरुले देश निर्वाचनमा होमिएको भन्दै माओवादी केन्द्रलाई जिताएर परिवर्तन र समृद्धिको यात्रा संस्थागत गर्न अपील गरे ।