ओलीलाई अर्को सरप्राइज: प्रचण्ड-विप्लव एकतातर्फ
काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट हटेको अर्कोदिन नै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थपूर्ण भेट गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) समेत सरकारमा सहभागी भएको भोलिपल्टै प्रचण्डसँग भेटेर पार्टी एकताको समेत कुरा गरेपछि राजनीति थप तरंगित बनेको छ । भेटघाट गरी एकताको साथ खोजेका छन्। पहिले भेटका लागि पनि प्रार्थमिकता नदिएका विप्लवले ओली बाहिरिएलगत्तै प्रचण्डसंग भेटेर एकताको कुरा गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
आश्चर्य त के छ भने ओली सरकार रहँदासम्म विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आलोचना गर्दै आइरहेका थिए । तर बुधबार अकस्मात विप्लव पुराना राजनीतिक सहयात्रीलाई लिएर प्रचण्ड निवास खुमलटार पुगेर एकताको बारेमा छलफल गरे। विप्लवले भूमिगत राजनीति छोडेपछि प्रचण्डसंग पहिलो भेट गरेका हुन् ।
स्रोतका अनुसार प्रचण्डले एकताको कुरा निकालेका थिए उनको प्रस्तावमा विप्लवले सकारात्मक प्रतिक्रिया दिएका थिए । एकताका विषयमा छलफल भएको र विप्लव सकारात्मक बनेको माओवादीका एक नेताले समेत स्वीकार गरे । प्रचण्डको प्रस्तावपछि विप्लवले पूर्व माओवादी घटकहरुबीच एकता गर्नुपर्ने प्रस्ताव प्रचण्डसँग राखेका थिए ।
उनीहरूबीच भेटघाटलाई निरन्तरता दिने सहमति भएको बताइएको छ । केहिदिनपछि फेरी भेट्नेगरी बेताहरू छुटेको बताइएको छ । प्रचण्डले विप्लवलाई यो सरकारले विश्वासको मत पाएपछि सहमति कार्यन्वयन गर्ने र त्यसलगत्तै बसेर एकताको प्रक्रियामा जाने बताएका थिए ।
भेटमा विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि सहभागी थिए। यस्तै विप्लव नेकपाका २ केन्द्रीय सदस्य पनि सहभागी भएका थिए ।
गत फागुन २१ गते केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लवबीच तीनबुँदे सहमति भएको थियो। सहमतिपछि सार्वजनिक हुँदैगर्दा विप्लव समूहले ओलीसँग एकता गर्नेसम्मको चर्चा गरिएको थियो । तर ओली बहिर्गमन भएलगत्तै प्रचण्डसँग भेटेर एकताको कुरा गरेपछि ओलीलाई सरप्राइज हुने भएको छ ।
अहिले ओली सरकारले सहमति पालना नगरेको आरोप विप्लवले लगाउँदै आएका थिए। बुधबारको भेटमा सहमति कार्यान्वयनका विषयमा पनि छलफल भएको बताइएको छ।