देउवाले प्रचण्डलाई दिए अन्तिम तीन विकल्प - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

देउवाले प्रचण्डलाई दिए अन्तिम तीन विकल्प



काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्तिम तीन विकल्प दिएका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल गर्नका लागि देउवाले प्रचण्डलाई विकल्प रोज्नुपर्ने बताएका हुन् ।

देउवाले एमसीसी संसदमा टेबल गर्न सहयोगका लागि सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई तीन विकल्पमध्य एकमा सहमति जनाउन आग्रह गरेका थिए । माओवादी केन्द्रले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय लिएपछि प्रधानमन्त्री देउवाले तीन वटा विकल्प दिएको बालुवाटार स्रोतले बताएको छ ।

प्रचण्डसँगको छलफलमा देउवाले तीन विकल्प दिँदै एमसीसीमा मौन बस्न, विपक्षमा उभिन र सरकार छोड्न आग्रह गरेका हुन् । माओवादीले यथास्थितिमा जबरजस्ती एमसीसी टेबल गरिए सरकार छोड्ने चेतावनी दिएको थियो ।
अध्यक्ष प्रचण्डले पनि देउवालाई सरकार छोड्ने अवस्था आएको बताएपछि देउवाले यी विकल्प दिएको बताइएको छ ।

प्रचण्डसँगको भेटपछि देउवाले बुधबार साँझ आफू निकट मन्त्री र केही पदाधिकारीलाई डाकेर प्रचण्डसँग भएको छलफलबारे जानकारी गराएका थिए । प्रचण्डसँगको उक्त भेटवार्ताबारे बिफ्रिङ गर्दै देउवाले तीन विकल्प दिएको बताएका थिए ।

एमसीसी पारित गर्न साथ दिन नसक्ने भए पनि टेबल गर्ने वातावरण नबिथोल्न प्रचण्डसँग प्रधानमन्त्रीले आग्रह गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार एमसीसीको पक्षमा उभिन नसक्ने भए एमसीसी पास गर्ने दिन संसदमा उपस्थित नहुन प्रचण्डलाई देउवाले पहिलो विकल्प दिएका छन् । यस्तै एमसीसीको विपक्षमा मतदान गर्ने भए पनि संसदमा उपस्थिति भएर विपक्षमा मतदान गर्न प्रचण्डलाई देउवाले दिएको दोस्रो विकल्प छ ।

एमसीसी टेबल गर्दा सरकार छाड्नुपर्ने अवस्था हो भने सत्ता छोडेर जाने भएपनि जान देउवाले तेस्रो विकल्पमा प्रचण्डसामु राखेको बताइएको छ ।