प्रचण्डको भ्रमणले नेकपा भित्र खैलाबला - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

प्रचण्डको भ्रमणले नेकपा भित्र खैलाबला



आफू भारत र चीन भ्रमणमा जानुको कारणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यसै साता हुने आफ्नो भारत भ्रमणका एजेण्डा सार्वजनिक गरेका छन्।

खुमलटारस्थित निवासा भएको अन्तक्र्रियामा प्रचण्डले चीन–भारत भ्रमणका एजेण्डाबारे सञ्चारकर्मीहरुलाई जानकारी दिएका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयनमा बल पुग्नेगरी भारत जान लागेको बताए।

‘प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल भ्रमण मध्येको एक हो’ उनले भने, ‘त्यसक्रममा केही सहमति भएका छन्, मेरो भ्रमणले त्यसको कार्यान्वयनमा सहयोग पुग्छ।’

‘सरकारलाई सफल बनाउन, भएका सहमति कार्यान्वयनलाई तीब्रता दिनपनि म भारत जान लागेको हो’ उनले थपे, ‘यसबाहेक अर्काे एजण्डा छैन।’

प्रचण्डको भनाईमा, प्रधानमन्त्री केपी शर्र्मा ओलीको भारत–चीन भ्रमणपछि दुबै देशको शीर्ष नेतृत्वले प्रचण्डको भ्रमणपनि चाह्यो, त्यसैले यो भ्रमण हुन लागेको हो।

ओली प्रधानमन्त्री पनि हुनुहुन्छ, पार्टी अध्यक्षपनि, ‘तर अर्काे अध्यक्ष त मपनि छु’ उनले थपे, त्यसैले दुबै अध्यक्ष आउनु प¥यो भन्ने उहाँ (भारत र चीन) को भनाई रह्यो।’

आफू केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउने अभियानमा रहेको बताउँदै आफ्नो भारत भ्रमणलाई शंकाको दृष्टिले नहेर्नपनि आग्रह गरे।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड असार अन्तिम साता सिङ्गापुर गएका थिए। एक हप्ताका लागि गएका उनको सिङ्गापुर बसाईं दुई हप्ता लम्बिएको थियो।

आफू पत्नी सीता दाहालको उपचारका क्रममा दुई हप्ता सिङ्गापुरमा रहँदा यहाँ चलेका हल्लाबारे पनि सुनाए।

‘सिङ्गापुरमा छँँदा चाइना, इण्डिया, अमेरिका कतैका मान्छेहरुसँगपनि भेटेको होइन, ‘कतिपयले भेट्न खोजेका थिए’ उनले भने, तर भेट्दिन नै भनेर नभेटी बसेँ।’

तर यहाँ त शंकाले लंका जलिसकेको रहेछ’ उनले सुनाए, ‘फर्केर आएपछि साथीहरुलाई (कसैलाई भेटेको छैन भनेर) विश्वास दिलाउन हम्मे पर्‍यो।’

२२ भदौमा नयाँदिल्ली प्रस्थान गर्न लागेका प्रचण्ड ५ दिन त्यहाँ रहनेछन्। नयाँ दिल्लीमा रहँदा आफ्ना कार्यक्रमबारे पनि उनले जानकारी दिए।

‘पहिलो दिन दूतावास (नेपालको) मा बसाईं होला’ उनले भने, दोस्रो दिन चाहिँ भारतीय विश्व सम्बन्ध परिषद (आइसीडब्ल्यूए) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।’

त्यसपछि भारतीय विदेश मन्त्री (सुष्मा स्वराज) र प्रधानमन्त्री लगायत शीर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको उनले सुनाए।

भारत भ्रमणबाट फर्केको ५ दिन पछि आफू चीन भ्रमणमा जान लागेको जानकारीपनि दिए। उनले भने, ‘चीन जाने मिति तय भएपनि भ्रमण तालिका चाहिँ बनिसकेको छैन।’