प्रचण्डले भने: बामदेवले गर्दा पार्टी खत्तम भयो ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रचण्डले भने: बामदेवले गर्दा पार्टी खत्तम भयो !



नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम प्रकरणले पार्टी नेतृत्वबीच अविश्वास जन्माएको स्वीकार गरेका छन् । तर, अब यो प्रकरण समाप्त भएको भन्दै उनले शीर्ष तहमा अविश्वासका अवस्था नरहेको दाबीसमेत गरेका छन् ।

नेकपाका ३ नम्बर प्रदेश कमिटी पदाधिकारीहरुसँग भएको छलफलमा अध्यक्ष प्रचण्डले केही अविश्वास र असमझदारीको अवस्था सिर्जना भएपनि त्यसको सुरक्षित अवतरण भइसकेको बताए । उनले अहिलेको अवस्थामा सरकारको आलोचना गर्ने भन्दा पनि सरकारलाई बलियो बनाउन पार्टी एकढिक्का हुनुपर्ने बताए ।

प्रचण्डले भने, ‘वामदेवजीको चुनाव लड्ने सन्दर्भ अब समाप्त भइसक्यो । उहाँले पनि अब सम्भवतः त्यस्तो चाहना राख्नुहुन्न होला । यो कुराले केही अविश्वासको अवस्था पनि आयो तर, त्यस्तो केही थिएन ।’ प्रचण्डले  गलत विषयमा सहमति दिँदा पार्टीमा विराेध हुनु स्वभाविक भएकाे भन्दै वामदेवकाे विषयमा अाफू र अाफ्नाे पार्टीले कुनै निर्णय नलिने स्पष्ट पारे ।

वामदेवका लागि सिट खाली गर्न काठमाण्डु ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिन तयार रहेको पत्र सचिवालयमा बुझाएका थिए । त्यो पत्र प्रचण्ड निवासमा तयार भएको थियो । यसबारे पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली लगायतका नेताहरुलाई समेत पूर्व सूचना नभएपछि नेकपाका शीर्ष नेताहरुमा अविश्वासको अवस्था आएको थियो ।

प्रदेश ३ कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले निवासमै पुगेर प्रचण्डलाई भेटेका थिए ।

बैठकमा शाक्यले स्थायी कमिटी बैठक नबोलाइएको भन्दै नेतृत्वको आलोचना गरेकी थिइन् । पार्टीमा बैचारिक छलफल बहस हुन छाडेको र बैठकबाट नेतृत्व तर्किने गरेको भन्दै शाक्यले तत्काल पार्टीलाई जीवन दिनुपर्ने बताएकी थिइन् ।