प्रधानमन्त्रीको दौडबाट बाहिरिए प्रचण्ड - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

प्रधानमन्त्रीको दौडबाट बाहिरिए प्रचण्ड



पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाए पनि कसले कति सिट पाउने त्यसमा केही उल्लेख छैन । बालुवाटारमा बिहीबार शीर्ष नेतालाई कार्यदलले बुझाएको प्रतिवेदनमा विवाद रहेको सिट र समाधान भएको सिटको वस्तुस्थिति समावेश छ ।

कसले कति सिट पाउने भन्ने विषयमा आज टुंगो लाग्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दाबी गरेका छन् । प्रेस सेन्टर कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आज ३ बजेपछि शीर्ष नेताको बैठक बस्ने र भागवण्डा टुंगो लगाउने बताए ।

सिट बाँडफाँटको विषयलाई लिएर गठबन्धनमा कुनै जटिल समस्या नरहेको उनको भनाइ छ । ‘गठबन्धन सकारात्मक ढंगले समझदारी र सहमतिको निकट पुगिसकेका छौँ । हिजो नेताहरूको अन्यत्र कार्यक्रम नपरेको भए हिजै टुंग्याउने स्थिति थियो,’ उनले भने, ‘आज ३ बजे टुंग्याउने हिसाबले छलफल गर्दैछौँ । जटिल समस्या पैदा भएको केही छैन ।’

चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयले भागवण्डा नटुंगिएको भन्ने विषयमा कुनै सत्यता नरहेको अध्यक्ष प्रचण्डले दाबी गरे । उनले प्रधानमन्त्री बन्ने इच्छा गरेको भए २०७४ सालमै पाँच वर्षलाई ढोका खुलेको भए पनि कम्युनिस्ट एकतालाई प्राथमिकता दिएकाले नबनेको सुनाए ।

‘वाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्राथमिकता दिएको हुनाले त्यसैका लागि छोडेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘अहिले प्रधानमन्त्रीको विषयमा गठबन्धनमा कुनै विवाद भएको छैन । गर्ने पक्षमा पनि छैन । प्रधानमन्त्री बन्न चाहने हो भने अहिल्यै बन्न सक्ने स्थिति छ तर म बन्दिनँ । देश र जनताका लागि फाइदाजनक हुँदैन । चुनावपछि के हुन्छ रिजल्टले देखाउने कुरा पनि हुन्छ ।’

चुनावपछि को प्रधानमन्त्री बन्ने भन्ने विषय चुनावअघि नै छलफलमा नल्याउने अध्यक्ष प्रचण्डले बताए । अहिले नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकीकरण हुने चर्चा पनि चलिराखेको छ । गठबन्धनमा वामपन्थी शक्ति बढी भएकाले एकता ध्रुवीकरणका लागि छलफल भइरहेको अध्यक्ष प्रचण्डले बताए ।

गठबन्धनभित्र हामी वामपन्थी पृष्ठभूमि र वामपन्थी नै बढी छौँ । त्यसकारण त्यहाँ पनि एकता ध्रुवीकरणका निम्ति छलफल चलिराखेको छ । र, हामीलाई थाहा छ त्यसो गरेर जाँदा राम्रो हुन्छ,’ उनले भने । प्रत्यक्ष निर्वाचन हुने प्रतिनिधिसभाका १६५ सिटमध्ये कांग्रेसले १०० सिटमा दाबी गरेको छ । कांग्रेसलाई गलाउने रणनीतिमा माओवादी र एकीकृत समाजवादी लाग्दा गठबन्धनमा सिट बाँडफाँटको गाँठो फुक्न सकेको छैन ।

माओवादीले ६० आसपासमा, जसपाले ३२, नेकपा एकीकृत समाजवादीले ३५ देखि ४० को दाबी गरेका छन् । उनीहरू कांग्रेसलाई ७५–८० सिटमा रोक्न चाहन्छन् । चुनावपछिको सरकारको चाबी आफ्नो हातमा राख्ने र पार्टी एकता गर्ने योजनामा प्रधानमन्त्री, राष्ट्रपति र सभामुखसमेत टुंग्याउन दबाब दिएका माओवादी र एकीकृत समाजवादी बलियो शक्ति मात्रै नभइ निर्णायक र नेतृत्व गर्ने शक्ति बन्न चाहन्छ्न् ।

कांग्रेसले दाबी गरेको ४३ सिट, माओवादीले दाबी गरेको १५ सिट, एकीकृत समाजवादीले दाबी गरेको ८ सिट, जसपाले दाबी गरेको ९ सिटमा अन्य दलले दाबी गरेका छैनन् । एमाले बलियो रहेको १३ सिटमा कसैले दाबी गर्न सकेका छैनन् । अहिले गठबन्धनभित्र २८–३० सिटमा कुरा मिल्न सकेको छैन ।